काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेकी सांसद् भगवति न्यौपानेले कोशी प्रदेशमा गठबन्धन सरकार आफैंले जातीय सद्भाव बिथोल्ने काम गरिरहेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद् न्याैपानेले काेशीमा सत्ता गठबन्धन र सरकारले जातीय सद्भावमा खलल पुर्याउने गतिविधि गरिरहेकाे बताउनुभयाे । 'धार्मिक सहिष्णुतामा खलल पुग्ने खालका गतिविधि भइरहेका छन्, बहुजात बहुधर्म बहुसंस्कृति नेपालीहरुकाे जुन पहिचान छ त्याे हाम्राे गर्व हाे, अभिशाप हाेइन, जातीय सद्भावमा खलल पुग्नेगरी जे गतिविधिहरु सञ्चालन भइरहेका छन्, त्याे अत्यन्तै दु:खद छ, आज काेशीमा पहिचानका नाममा जातीय सद्भावमा खलल पुग्ने खालका गतिविधि भइरहेका छन् त्यसलाई उक्काउने काम गठबन्धनबाटै भइरहेकाे छ'- उहाँले भन्नुभयाे ।
काेशीमा भइरहेका गम्भीर गतिविधिलाई तत्काल नियन्त्रण गर्न सांसद् न्याैपानेले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयाे । देशलाई रुवाण्डा नबनाउन समेत उहाँले सरकारलाई चेतावनी दिनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'त्यसलाई नियन्त्रण र जातीय सद्भाव कायम गर्न भन्दा, त्यसलाई उक्साउने र अराजकतातिर लैजाने खालकाे परिस्थिति गठबन्धनबाट, सरकारबाट भइरहेकाे छ, मिलेर बसेका नेपालीलाई, जातजातका नाममा लडाइँ गराएर याे देशलाई रुवाण्डा बनाउन हामी चाहाँदैनाैं त्यसैले त्यसतर्फ सरकारकाे ध्यान जाओस् ।'
काेशीमा सत्ता गठबन्धनले पटकपटक असंवैधानिक काम गरेकाे भन्दै उहाँले सर्वाेच्च अदालतले एकपटक संविधान मिचियाे भनिएकाे कुरा गठबन्धनले पुन: दाेहाेर्याएर संविधान मिचेकाे बताउनुभयाे ।
आफ्नाे हातमा सुनका डल्ला फलाएर प्रमुख प्रतिपक्षलाई दाेष दिने, गठबन्धनका नेतालाई जाेगाउने र गरिबलाई फसाउने काम सरकारले गरिरहेकाे उहाँले बताउनुभयाे । प्रतिपक्ष एमालेलाई दाेष लगाइएका लगायत सबै काण्डकाे निष्पक्ष छानबिन गर्न समेत सांसद् न्याैपानेले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'एमालेलाई लगाएका आराेपमा सबैभन्दा पहिला छानबिन गरियाेस्, नेपाली जनताले थाहा पाउँछन्'- उहाँले भन्नुभयाे ।
अहिले भइरहेका भ्रष्टाचार काण्डकाे अनुसन्धान थामथुम पार्न सरकारले गिरिबन्दु टी-स्टेककाे कुरा उठाइएकाे भन्दै सांसद् न्याैपानेले त्यसकाे पनि छानबिन गर्न चेतावनी दिनुभयाे ।
