काठमाडौं । प्रतिनिधि सभाका विभिन्न १० विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ ।
साेमबार हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता गरिएकाे हाे । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीका तर्फबाट उम्मेदवारी दर्ता भएको संघीय संसद् सचिवालयले जनाएको छ।
१० मध्ये ९ वटा समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने २ जनाको उम्मेदवारी परेको छ ।
अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादवकाे उम्मेदवारी परेकाे छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवाकाे उम्मेदवारी परेकाे छ ।
महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ ।
पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा चुनाव भएको ९ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । मिनी पार्लियामेन्टका रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन । हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।
हेर्नुस् सूची :
अर्थ समिति - सन्तोष चालिसे (नेपाली कांग्रेस)
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - राजकिशोर यादव (जसपा)
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति - अब्दुल खान (जनमत) र गणेश पराजुली (रास्वपा)
कानुन, न्याय तथा मानवअधिकार समिति - विमला सुवेदी (माओवादी केन्द्र)
कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति - आरजु राणा देउवा (कांग्रेस)
महिला तथा सामाजिक मामिला समिति - किरणकुमार साह (एमाले)
राज्य व्यवस्था तथा सुशासन समित - रामहरि खतिवडा (कांग्रेस)
पूर्वाधार विकास समिति सभापति - राप्रपाका दीपकबहादुर सिंह (राप्रपा)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति - भानुभक्त जोशी (एकीकृत समाजवादी)
सार्वजनिक लेखा समिति - ऋषिकेश पोखरेल (एमाले)
