काठमाडाैं । प्रतिनिधि सभाअन्तर्गतका १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् ।
प्रतिनिधि सभाको चुनाव भएको ९ महिनापछि प्रतिनिधि सभाका समितिले पूर्णता पाउन लागेका हुन् । समितिका सभापतिका लागि आइतबार उम्मेदवारी दर्ता भएकाे थियाे । आज चुनाव हुँदैछ ।
आइतबार दर्ता भएका प्रस्ताव सम्बन्धित समितिमा आज निर्णयार्थ प्रस्तुत गरिनेछ ।
९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा २ जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको संघीय संसद् सचिवालयले जनाएकाे छ । एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा गरिनेछ । दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि चुनाव हुनेछ ।
एक मात्र प्रस्ताव दर्ता भएका समितिमा समर्थक सदस्यले बोलिसकेपछि सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।
दुई वटा प्रस्ताव दर्ता भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि दर्ता क्रमअनुसार समर्थक सदस्यले बोलिसकेपछि दुई वटै प्रस्तावमाथि छलफल हुनेछ । त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादवकाे उम्मेदवारी परेकाे छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवाकाे उम्मेदवारी परेकाे छ ।
महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ ।
पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ ।
मिनी पार्लियामेन्टका रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन । हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।
