काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे आसन्न चीन भ्रमण दुई देशकाे सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्सँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा हुने चीन भ्रमणले दुई देशबीचकाे एेतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे - 'निकट भविष्यमा हुने मित्रराष्ट्र चीनकाे भ्रमण दुई देशबीचकाे एेतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपालकाे आर्थिक सामाजिक विकासका लागि चीन नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहनेछ ।'
आफ्नो चीन भ्रमणका क्रममा नेपाल-चीनबीचको नाका सञ्चालन र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'भ्रमणका क्रममा यसअघि भएका सम्झाैता र समझदारीकाे कार्यान्वयनमा जाेड दिइनेछ, नेपाल र चीनबीचको आर्थिक र व्यापार सम्बन्धलाई थप प्रगाढ बनाउने दुई देशबीच रहेका सीमा-नाकाहरुकाे सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेका छन् ।'
उदय शमशेर राणाले साेधेकाे प्रश्नकाे जवाफ दिँदै उहाँले चीन भ्रमणका क्रममा सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी कृषि शिक्षा र स्वास्थ्य क्षेत्रका रुपान्तरणकारी परियाेजनामा चीनकाे सहयाेग विस्तारकाे विषय समेत प्राथमिकतामा रहने बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति कायम गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे । लगानीकाे वातावरण बनाउनेगरी सरकारले काम गरिरहेकाे भन्दै उहाँले अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेका दाबी पनि उहाँले गर्नुभयाे ।
