काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र विस्तारै लयमा फर्कन थालेकाे दाबी गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्सँगको प्रश्नोत्तर कार्यक्रममा सांसद्ले साेधेका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशामा रहेका बताउनुभयाे । 'सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्कन सुरु गरेको छ, राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशातर्फ उन्मुख भएका छन्'- उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री प्रचण्डले असार मसान्तसम्म सोधनान्तर स्थिति २ सय ९० अर्ब ५२ करोड रुपैयाँको बचत रहेको बताउनुभयाे । विदेशी विनिमय सञ्चिति पनि गत वर्षको यही अवधिको तुलनामा २६ दशमलव ६ प्रतिशतले वृद्धि भई आगामी दश महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्थामा रहेको उहाँले बताउनुभयाे ।
विप्रेशण आय (रेमिटेन्स) मा २१ दशमलव २ प्रतिशतले वृद्धि भई १२ सय २० अर्ब ५६ करोड पुगेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको भन्दै उहाँले केन्द्रीय बैंकले सोमबार मात्रै चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गरी उद्योग व्यवसाय क्षेत्रका सकारात्मक प्रभाव पार्ने बताउनुभयाे ।
