काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जातीय पहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अभिव्यक्ति आपत्तिजनक रहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै प्रमुख सचेतक गिरीले जातीय र सामाजिक सद्भाव भड्काउने काममा प्रधानमन्त्री प्रचण्ड नै स्वयंम् संलग्न भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'पछिल्लो समय सम्माननीय प्रधानमन्त्रीज्यूले जुन प्रकारले अभिव्यक्तिहरू दिनुभएको छ - म जातीय राज्यको पक्षमा छु, तपाइँहरू जाग्नुस्-उठ्नुस्, तपाइँहरूले मलाई बल दिनुपर्ने बेला आएको छ, बल दिनुस्, म यो मुलुकमा जातीय राज्य स्थापित गर्छु, हाम्रो पार्टीलाई बहुमत दिनुस्, म यो देशमा जातीय राज्य स्थापित गराई छोड्छु जस्ता अभिव्यक्तिहरू निरन्तर रुपमा दिँदै आउनुभएको छ, यो अभिव्यक्ति असंवैधानिक त छँदैछ, सँगसँगै मुलुकमा मिलेर बसेका दाजुभाइबीच आपसमा विद्वेष फैल्याउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिति सृजना गर्ने र मुलुकमा ठूलाठूला त्रादसीपूर्ण स्थिति सृजना गर्ने काममा स्वयम् प्रधानमन्त्रीले मलजल गर्ने काम गरिरहनुभएको छ ।'
देशकाे जिम्मेवार पदमा बसेकाे व्यक्तिकाे अभिव्यक्तिकाे आफूहरुले निन्दा र भर्त्सना गरेकाे प्रमुख सचेतक गिरीले बताउनुभयाे । 'देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्ति यसरी आपसी दाजुभाइहरूको बीचमा विद्वेष र घृणा फैल्याउने काम यो कुनै पनि हालतमा स्वीकार्य छैन, यसमा हामी गम्भिरतापूर्वक आपत्ति व्यक्त गर्न चाहन्छौं र यो भनाइको निन्दा पनि गर्न चाहन्छौं'- उहाँले भन्नुभयाे ।
सरकारले सुशासन दिन्छाैं भनेर गुड्डी हाँक्ने काम गरिरहेकाे र भ्रष्टाचारका फाइल खाेल्ने बताइरहेकाे सरकारले सत्तापक्षका नेतालाई जाेगाउने काम गरेकाे प्रमुख सचेतक गिरीले बताउनुभयाे । ललिता निवास प्रकरणका दोषी, सुन तस्करमा संलग्नको पारदर्शी ढंगले छानबिन गर्न पनि उहाँले माग गर्नुभयाे ।
