काठमाडाैं । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार इतिहासकै कमजाेर सरकार भएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् सिंहले गठबन्धन सरकार बनेपछि देशमा विदेशी हस्तक्षेप बढेकाे बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले विदेशी हस्तक्षेप निम्याएर मुलुकमा धार्मिक र जातीय युद्ध निम्त्याउन खाेजेकाे उहाँले बताउनुभयाे । 'नेपालमा आज विदेशीको हस्तक्षेप भइरहेकाे छ, नेपालकाे इतिहासमै पहिलाे यति धेरै विदेशीकाे हस्तक्षेप भइरहेको छ, यति कमजोर सरकार नेपालमा मैले यसअघि देख्या थिए, सरकार नेपालमा वैदेशिक हस्तक्षेपको निमन्त्रणकर्ता हो, सरकारको सहभागिता र सक्रियतामा नेपालमा जातीय र धार्मिक दंगा गराउन खोजिँदै छ'- सांसद् सिंहले बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले गणतन्त्रकाे धज्जी उठाएकाे, गणतन्त्रलाई नेतातन्त्रमा परिवारतन्त्रमा बदल्ने र विदेशीकाे इसारामा धार्मिक र जातीय युद्ध निम्त्याउन खाेजेकाे भन्दै उहाँले आफूहरु नेपाली जनता र नेपालप्रति चिन्तित रहेकाे बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल राज्यका उच्च तहका हरेक बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भन्ने प्रश्न समेत सांसद् सिंहले गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले छोरीलाई राज्यका हरेक उच्च तहका बैठकमा सहभागी गराएर गणतन्त्रमाथि नै खतरामा पारेको समेत उहाँले बताउनुभयाे । 'जनताको तन्त्र हो गणतन्त्र, जताकाे तन्त्रमा नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ? म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं ? कुनै पूर्व प्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् ? अथोरिटी विदाउट अकाउन्टिबिलिटी चलेको छ, सबैभन्दा बढी खतरा त्यहाँबाट छ, गणतन्त्रलाई कहिँबाट खतरा छ भने चार-पाँच जना नेता र उनीहरूका बच्चाहरूबाट छ, जम्मै भ्रष्टाचारको जरो त्यहाँ छ'- उहाँले भन्नुभयाे ।
मुलुकका ठूला भ्रष्टाचार काण्ड अन्तिम टुंगोमा किन पुगेनन् भनेर उहाँले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्नुभयाे । 'कुनैपनि ठूला भ्रष्टाचार काण्ड अन्तिम टुंगोमा किन पुगेनन् ? चाहे ललिता निवास, चाहे भुटानी शरणार्थी हाेस्, चाहे सुन काण्ड हाेस् किन अन्तिमसम्म पुग्दैन ? काेर्टले आदेश दिएर पनि कसैलाई कारबाही गरिँदैन ? सीआईबीले रिपाेर्ट बनाउँदाखेरी बयानका लागि बाेलाइँदैन ? के सरकारकाे संयन्त्र केही सीमित नेताहरुकाे कठपुतली हाे ?'- उहाँकाे प्रश्न छ ।
