काठमाडौं । प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले संसद्लाई हेप्ने काम गरेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै थापाले सबै ऐन एकैसाथ संशोधनको लागि संसद्मा ल्याएर सरकारले विधि शास्त्रको अवज्ञा गरेको बताउनुभयो । उहाँले मसँग बहुमत छ मैले जे ल्याए पनि पारित हुन्छ भनेर नसोच्न सरकारलाई आग्रह गर्नुभयो । ‘यो हामीलाई हेपेको हो, हामी हेपिने कि नहेपिने यो पटक हामीले देखाउनु पर्ने छ’, उहाँले भन्नुभयो ।
मुलुकी अपराध संहित संशोधन गरी जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी ऐन ल्याएको भन्दै उहाँले विरोध जनाउनुभयो । राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण नेपाली कांग्रेसले कदापि नस्विकार्ने उहाँले प्रष्ट पार्नुभयो ।
मसँग बहुमत छ, यहाँ आएका सबै सांसदले ताली पड्काउँछन् भन्ने नसोच्न उहाँले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । संसद्लाई हेप्ने काम बन्द गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो । ‘हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन’, उहाँले भन्नुभयो ।
