काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेपछि केही नेपाल ऐन संशोधन विधेयक, २०८० लाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुन सकेन ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गर्नुभएकाे केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्ले गणपुरक संख्या यकिन गर्न माग गरेका थिए ।
गणपुरक संख्या निर्धारण गर्नका लागि ३ मिनेट जनाउ घण्टी बजाइएको थियो । त्यसपछि सांसद्को संख्या गणना गर्दा ५९ सांसद् मात्रै बैठकमा उपस्थित थिए । प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नका लागि सम्पूर्ण सदस्य संख्याको एक चौथाई अर्थात् ६९ सांसद उपस्थित हुनुपर्ने संवैधानिक प्रावधान छ ।
त्यसपछि सभामुख घिमिरेले सदनकाे कार्यसूचीमा विवरण भएका कार्यक्रम आजका लागि हटाइएको जानकारी गराउनुभयाे । उहाँले प्रतिनिधि सभाको अर्को बैठक भदौ १८ मा बस्ने बताउनुभयाे ।
