काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० यथास्थितिमा पारित गर्न नहुने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले विधेयकमा रहेका विषयमा थप छलफल तथा संशोधन गरी अघि बढाउनुपर्ने बताउनुभयो ।
हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आउँदैमा उनीहरूको मुद्दा खारेज गर्न नहुने भन्दै उहाँले विधेयकमा रहेका केही प्रावधानलाई जस्ताकाे तस्तै पारित गर्न नहुने बताउनुभयाे । 'मुलुकी फौजदारी अपराध कार्यविधि संहिता २०७४ को दफा ११६ (१) मा हिंसात्मक क्रियाकलाप छोडी मूलधारको राजनीतिमा फर्कन चाहने समूहका सदस्यहरूलाई थुना मुक्त गर्ने र मुद्दाहरू खारेज गर्ने व्यवस्था गरिएको छ, यसलाई यसै रूपमा पारित गर्नुहुन्न, यसमा राजनीतिक छलफल गरी सहमतिमा पुगेर जानुपर्छ'- लेखकले भन्नुभयाे ।
