काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले वर्तमान सरकारलाई कुनै पनि कुराले नछुने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका सचेतक समेत रहनुभएका बर्तौलाले सरकार र त्यसमा रहने मानिसहरू निर्जीव जस्तै भएका बताउनुभयो । सरकार कुम्भकर्ण जस्तो निन्द्रामा परेको उहाँले बताउनुभयो । ‘यो सरकार माटोको तोर्मा जस्तो भयो, आइया पनि छैन, आत्थु पनि छैन’, उहाँले भन्नुभयो ।
चार वर्षदेखि १ लाख ५० हजार बढी नागरिकले कोरोनाको बिमा रकम पाउन नसकेको उहाँले बताउनुभयो । बिमा गरेका नागरिकको ११ अर्ब रुपैँय तत्काल सरकारबाट भुक्तानी हुनु पर्ने उहाँले बताउनुभयो ।
१ सय ४ मेगावाट विद्युत् उत्पादन हुने मकवानपुरको इन्द्र सरोवर पुरिएको प्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । हिलो र माटोले पुरिँदा ८५ लाख घन मिटर पानी अट्ने मानव निर्मित सो तालमा ६२ लाख घन मिटर मात्र पानी अट्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
इन्द्र सरोवर सफा गरी क्षमता अनुसारको पानी अट्ने व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । तालको सरसफाइ र संरक्षण गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
