काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हरि ढकालले क्रिकेट खेलाडीलाई दिने घाेषणा गरिएकाे पुरस्कार रकम तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् ढकालले सकारले खेलाडीहरुमाथि चरम शाेषण गरेकाे बताउनुभयाे । घरेलु प्रतियाेगितामा खेलाडीलाई जम्मा ५ हजार थमाउने गरिएकाे भन्दै उहाँले त्याे रकमबाट जाेगाएर खेलाडीले ब्याट र झाेला किनेकाे आफूले देखेकाे बताउनुभयाे ।
घाेषणा गरिएकाे पुरस्कार खेलाडीलाई किन दिन सकिएन भन्नेबारे सदनमा जानकारी गराउन सांसद् ढकालले सरकारसँग माग गर्नुभयाे । उहाँले भन्नुभयाे - 'उधाराेमा जुन पुरस्कार दिइएकाे छ नि, महिनाैं वर्षाैंदेखि त्याे उधाराेमा दिइएकाे पुरस्कार अबिलम्ब, तुरुन्तै आजकाे आजै त्याे रकम खेलाडीकाे खातामा पठाउन माग गर्छु, अर्थ मन्त्रालयले नपठाएकाे हाे, खेल मन्त्रालयले नपठाएकाे हाे, यसबारे प्रधानमन्त्री र खेलकुदमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, युवालाई याे देशमा अत्याचार गरिएकाे छ, खेलाडीलाई शाेषण गरिएकाे छ ।'
सांसद् ढकालले राज्यले खेलाडीमाथि गरेकाे शाेषणकाे जवाफ आज भारतलाई जितेर दिन समेत नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाई शुभकामना दिनुभयाे । खेल क्षेत्रकाे गरिमा आज खेलाडी र उनीहरुका अभिभावककाे बलबुताले मात्र जाेगिएकाे भन्दै उहाँले सरकारले खेलाडीप्रति कुनै ध्यान नदिएकाे बताउनुभयाे ।
नेपालका त्रिकेटरहरुकाे तलब देख्दा लाजलाई पनि लाज लाग्ने भन्दै उहाँले खेलाडीलाई शुभकामना दिएर मात्र नहुने बताउनुभयाे । सरकारले एउटा राम्राे क्रिकेट मैदान बनाउन नसक्ने र भएकाे कीर्तिपुरकाे मैदानमा लाइट समेत जडान गर्न नसक्ने सरकारले प्रदेश प्रमुख र सांसद्का लागि भने आलिसान महल बनाइरहेकाे भन्दै सांसद् ढकालले आपत्ति जनाउनुभयाे ।
