काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक रोजगारीमा रहेका युवाको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै अध्यक्ष लिङ्देनले केही दिनअघि आफूले साउदी अरब र युएईकाे भ्रमण गर्ने क्रममा त्यहाँ नेपाली युवाकाे अवस्था निक्कै दयनीय रहेकाे देखेकाे बताउनुभयाे ।
उनीहरुले हिँड्ने बेला र फर्किँदा सबैभन्दा ठूलाे अपमान नेपालकै विमानस्थलमा भाेग्ने गरेकाे गुनासाे गरेका भन्दै उहाँले विमानस्थलमा हुने व्यवहारमा सुधार र परिवर्तन गर्नतर्फ ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । वैदेशिक राेजगारीमा जाने युवाहरुकाे समस्यालाई प्राथामिकतामा राखेर कार्ययाेजना बनाउन पनि अध्यक्ष लिङ्देनले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
भिजिट भिसा, सप्लाई भिसा जाने युवा र घरेलु कामदारका रुपमा जाने युवाहरुले धेरै दु:ख पाएका आफूले पाएकाे भन्दै उहाँले बतायनुभयाे ।भिजिट भिसामा जानेहरुलाई सेटिङकाे आधारमा विमानस्थलबाट छुट दिने गरिएकाे पाइएकाे भन्दै अध्यक्ष लिङ्देनले यसतर्फ गम्भीर हुन पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
उहाँले नेपाली कामदारबाट सबैभन्दा बढी राजश्व उपलब्ध गराउने साउदी अरब र युएईका राजदूतावास दयनीय अवस्थामा रहेकाे पनि बताउनुभयाे । 'वैदेशिक रोजगारमा रहेका युवाहरुको समस्या अध्ययन गर्न र समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर एउटा विशेष कमिसन गठन होस् भनेर माग गर्न चाहन्छु'- अध्यक्ष लिङ्देनले भन्नुभयाे ।
