काठमाडौं । प्रतिनिधि सभा सदस्य रघु पन्तले सरकारले नेपालको चुच्चे नक्साको विषयमा मित्र राष्ट्रहरूलाई जानकारी नगराउँदा अन्तर्राष्ट्रिय जगतमा चुच्चे नक्सा हराएको बताउनुभएको छ ।
वर्तमान सरकारलाई पहिलेको सरकारले पत्राचार गरेको रहेनछ भनेर सो विषयमा उम्कने छुट नभएको पन्तले बताउनुभयो । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै पन्तले चुच्चे नक्साको बारेमा सरकारले के के काम गरेको छ भन्ने कुरा संसद्लाई जानकारी गराउन माग गर्नुभयो ।
चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नहुनु सरकारकै कमजोरी भएको उहाँले बताउनुभयो । ‘नक्सा त संसद्बाट हामीले एक मतले जारी गर्यौँ, तर भर्खरै चीनले प्रकाशित गरेको उसको नक्साको छिमेकमा हाम्रो देश देखाउँदा हाम्रो चुच्चे नक्सा छैन’, उहाँले भन्नुभयो ।
परराष्ट्र मन्त्री अघिल्ला सरकारहरूले चिठ्ठी नै लेखेको रहेनछ भनेर आलोचना गरेर बसिराख्नुभएको भन्दै उहाँले आलोचना गर्नुभयो । यो सरकारको दायित्व भएकोले त्यसबाट सरकार पन्छिन नमिल्ने उहाँले बताउनुभयो । सरकारले संसद्को एकमतले जारी गरेको चुच्चे नक्सालाई मान्यता दिलाउनको लागि कुन कुन देशसँग के कस्तो पत्राचार गरेको छ, त्यसको जानकारी संसद्मा दिनु पर्ने उहाँले बताउनुभयो ।
