काठमाडाैं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले क्रान्ति बाल अस्पतालकाे चरम लापरबाही र गैरजिम्मेवारीपनका कारण रेजिशा गोपालीको ज्यान गएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सचेतक बर्ताैलाले यस घटनामा संलग्न दाेषीलाई कारबाही गर्न, पीडितलाई न्याय र क्षतिपूर्ति दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
अस्पतालभित्रको बेथितिको अस्पतालको निर्देशक र विकास समितिले जिम्मा लिनुपर्छ कि पर्दैन ? भन्ने प्रश्न समेत उहाँले भन्नुभयाे । परिवारले अनेक अनुनय विनय गर्दा पनि इमर्जेन्सी कक्षमा जान नदिइनु गम्भीर भएकाे उहाँले बताउनुभयाे । 'घटनामा त्याे लापरबाही र गैरजिम्मेवारीपनमा जाेडिएका त्यहाँकाे अस्पताल विकास समिति, त्यहाँकाे निर्देशक लगायतकाे टीमलाई अनुसन्धानमा ल्याइयाेस्, दाेषीउपर कारबाही गरियोस्, अबिलम्ब ती पीडितलेन्याय पाउनुपर्छ, न्याय पाउने कुराकाे र क्षतिपूर्तिको सुनिश्चितता हुनुपर्छ, आगामी दिनमा यस्ता घटना हुन नदिने सुनिश्चितता हुनपर्छ ।'
कान्ति बाल अस्पतालमा भएकाे घटनाको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले सदनलाई जवाफ दिन माग गर्नुभयाे । 'यसले एकातिर अस्पतालभित्रको चरम लापरबाही, बेथिति देखाउँछ भने यो घटनाबारे त्यहाँको अस्पतालको निर्देशकले जिम्मा लिनुपर्छ कि पर्दैन ? त्यहाँको अस्पताल विकास समितिले जिम्मा लिनुपर्छ कि पर्दैन ? त्यति मात्रै होइन, स्वास्थ्यमन्त्रीज्यूले संसद् आएर पहिले नै समय लिएर यो विषयमा बताउनुपर्थ्यो, देशभर सरकारी अस्पतालमा यस्ता बेथिति भइरहेकाे कुरा आएकाे छ ।'
उच्च ज्वरोपछि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुर्याइएकी मकवानपुर थाहा नगरपालिका-१० की पाँच वर्षीया रेजिशा गोपालीको सोमबार साँझ उपचारको पालो कुर्दा कुर्दै ज्यान गएको थियो ।
