काठमाडाैं । सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पतालमा उपचार अभावमा ज्यान गुमाएकी बालिका रेजिना गोपाली र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएकाे आक्रमणकाे विषयमा सदनलाई जानकारी गराउन सररकारलाई रुलिङ गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक, शून्य र विशेष समयमा सांसद्हरुले साे विषयमा कुरा उठाएपछि सभामुख घिमिरेले सरकारलाई रुलिङ गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे - 'आजकाे आकस्मिक, शून्य र विशेष समयमा, कान्ती बाल अस्पतालमा एक जना ५ वर्षीय बालिकाकाे मृत्यु भएकाे र संविधान सभा सदस्य एवं कांग्रेसका सहमहामन्त्री भएकाे आक्रमणकाे विषयमा गम्भीर कुराहरु उठेका छन्, यी विषयमा सदनलाई जानकारी गराउन म सरकारलाई निर्देश गर्दछु ।'
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० की ५ वर्षीया बालिका रेजिना गोपालीको कान्ति बाल अस्पतालमा गत सोमबार निधन भएको थियो । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए । यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
