काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकका आफ्नाे मन्त्रायलसँग सम्बन्धित प्रश्नाेत्तर कार्यक्रममा बाेल्दै मन्त्री भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएकाे बताउनुभयाे ।
वैदेशिक रोजगार बाध्यात्मक अवस्था भएपनि देशकाे आर्थिक अवस्थाका कारण वैदेशिक राेजगारकाे विकल्प अहिलेलाई नदेखिएकाे उहाँले बताउनुभयाे ।
करिब दैनिक २२ सय युवा वैदेशिक राेजगारीमा जाने गरेकाे भन्दै मन्त्री भण्डारीले आन्तरिक राेजगारीबाट विस्थापन गर्ने नीतिकाे आवश्यकता रहेकाे बताउनुभयाे । यसका लागि सरकारले काम गरिरहेकाे दाबी उहाँले गर्नुभयाे । राेजगारी भनेकाे मुलुककाे अर्थतन्त्र, समृद्धि र सीपसँग जाेडिएकाे विषय भएकाे भन्दै मन्त्री भण्डारीले देशकाे आर्थिक अवस्थामा सुधार हुँदै गएकाले राेजगार सृजना हुन सक्ने विश्वास व्यक्त गर्नुभयाे ।
स्वदेशमै राेजगारी सृजना गर्नका लागि लागिपरेकाे उहाँले बताउनुभयाे । नेपालकाे संविधानमा राेजगारीकाे हकलाई माैलिक हकका रुपमा राखिएकाे र सरकार स्वदेशमै राेजगारीकाे अवसर उपलब्ध गराउने दिशामा क्रियाशील रहेकाे उहाँले बताउनुभयाे । श्रम मन्त्रालय अन्तर्गत सञ्चालित प्रधानमन्त्री राेजगार कार्यक्रममार्फत प्रत्येक स्थानीय तहमा रहेका राेजगार सेवा केन्द्रमा सूचीकृत बेराेजगार नागरिकलाई न्यूनतम सय दिनकाे राेजगारी उपलब्ध गराइएकाे बताउनुभयाे ।
यसबाहेक कृषि, उद्याेग, भाैतिक, युवा मन्त्रालय लगायत नेपाल सरकार अन्तर्गतका विभिन्न निकायहरुबाट राेजगारी सृजना हुने किसिमका कार्यक्रम सञ्चालन भएका बताउनुभयाे ।
राष्ट्रिय आप्रवासन नीति ल्याउने गृहकार्य सरकारले गरिरहेकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत सबै स्थानीय तहमा स्थापना गरिएकाे राेजगार सेवा केन्द्रलाई राेजगार हवकाे रुपमा विकास गर्ने काममा सरकार लागिरहेकाे मन्त्री भण्डारीले बताउनुभयाे ।
पढ्दै कमाउँदै कमाउँदै पढ्दै लगायत कार्यक्रम पनि अगाडि बढाइएकाे उहाँले बताउनुभयाे ।
मन्त्री मण्डारीलाई नेमकिपाका सांसद् प्रेम सुवालले प्रश्न साेध्नुभएकाे थियाे ।
