काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहत भएकाे बताउनुभएकाे छ ।
नेम्वाङकाे निधनबाट संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको सभामुख घिमिरेले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महशुस आफूले गरेकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।
'संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १:३० बजे अप्रत्यासित निधनले मर्माहित भएको छु, उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ, प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महशुस गरेको छु'- सभामुख घिमिरेले लेख्नुभएकाे छ ।
उहाँले सांसद् नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएकाे छ ।
इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद्, एमाले प्रतिनिधि सभा संसदीय दलका उपनेता र वरिष्ठ अधिवक्ता समेत रहनुभएका नेम्वाङकाे साेमबार राति हृदयघातका कारण निधन भएकाे थियाे ।
उहाँ २०४८ देखि २०५२ सम्म राष्ट्रिय सभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । एमाले उपाध्यक्ष नेम्वाङ २०६३ मा पुर्नस्थापित प्रतिनिधि सभाका सभामुख, ०६४ व्यवस्थापिका संसद्को सभामुख, ०६५ र २०७० सालमा संविधानसभाका अध्यक्ष-सभामुख हुनुहुन्थ्याे ।
