काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेकाे बैठकमा सभामुख देवराज घिमिरेले असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी गराउनुभएकाे हाे ।
आजकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएकाे थियाे । त्यसक्रममा उहाँले आफ्नो चीन र अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुभयाे ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन शनिबार अमेरिकाकाे न्युयाेर्क जाँदै हुनुहुन्छ । अमेरिकाबाटै आफू छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने बैठकमा जानकारी गराउनुभयाे ।
शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तुत गर्नुभएकाे थियाे ।
साे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै सभामुख घिमिरे सर्वसम्मतिले स्वीकृत भएकाे बताउनुभयाे ।
