काठमाडाैं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
शुक्रबार सिंहदबारमा बसेको समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो । शर्मालाई बोलाएर सुनुवाई गरेपछि समितिले उहाँकाे नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
यसअघि बिनोद शर्मा विरुद्ध उजुरी गर्न १० दिनको सार्वजनिक सूचना जारी गरेपनि उहाबिरुद्ध कुनै उजुरी प्राप्त नभएपछि समितिले सिधै सुनुवाई गरेको थियो ।
समिति सभापति पशुपतिशम्शेर राणाले न्याय परिषद्को पत्रानुसार शर्मालाई सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमा सिफारिस गरेबमोजिम संसदीय सुनुवाई गरेर शर्माको नाम सर्वसम्मतले अनुमोदन गरिएको जानकारी दिनुभयो ।
त्यसअघि सुनवाईका क्रममा प्रस्तावित न्यायाधीश शर्माले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्ने, प्रभावकारी कानूनी उपचारको व्यवस्थामा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मासात गर्दै आफूले कार्यसम्पादन गर्ने समेत उहाँले बताउनुभयो । शर्माले न्यायालयप्रति जनताको विश्वास कायम गर्न पनि प्रभावकारी रुपमा काम गर्ने बताउनुभयाे ।
न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले शर्मालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
