काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनका राष्ट्रपति सी जिनफिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने जानकारी दिनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८औं महासभाको औपचारिक भ्रमणबारे जानकारी गराउँदै उहाँले आगामी असोज ५ गते संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय भएकाे जानकारी दिनुभयाे ।
प्रधानमन्त्री प्रचण्ड छोटो समय रहेका कारण संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको कार्यक्रम सकेर त्यतैबाट भ्रमण चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताउनुभयाे । 'संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन पश्चात असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हांगजाउ जाने कार्यक्रम तय भएको छ, संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिका बीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो'- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
आफ्नो चीन भ्रमण दुई मुलुकबीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हित एवं दुई मुलुकबीचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने दाबी उहाँले गर्नुभयाे । 'नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रही आएको छ र हालैका वर्षहरूमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको छ, चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वांगीण विकासको प्रयासमा सहयोग गर्दै आएको छ'- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
नेपालको प्रधानमन्त्रीको हैसियतमा आफ्नाे याे तेस्रो चीन भ्रमण हुने भन्दै उहाँले यस भ्रमणले नेपाल-चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ विश्वास व्यक्त गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले यस भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने प्रयास रहने दाबी गर्नुभयाे । 'हांगजाउमा नै चिनियाँ राष्ट्रपति महामहिम सी चीनफिङसँग भेटघाटको कार्यक्रम छ, सोही दिन म १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछु'- उहाँले भन्नुभयाे ।
सेप्टेम्बर २५ मा बेइजिङमा समकक्षी महामहिम लि छियाङ्सँग मेरो भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डले सुनाउनुभयाे । त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्स लगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयाे ।
छोङछिंगको भ्रमण पश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डले जनाकारी दिनुभयाे ।
काेभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुरा हुने उहाँले बताउनुभयाे । 'नेपालको प्रधानमन्त्रीको हैसियतमा मैले गर्ने छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने मैले विश्वास लिएको छु'- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
