काठमाडौं । सभामुख देवराज घिमिरेले देवराज घिमिरेले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताउनुभएकाे छ ।
संविधान दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै सभामुख घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले अब नयाँ क्रान्ति आवश्यक नरहेको उल्लेख गर्नुभएकाे छ ।
संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने सुझाउँदै उहाँले नेतृत्वको चरित्र प्रजातान्त्रिक र लोकतान्त्रिक हुन जरुरी रहेकाे उल्लेख गर्नुभएकाे छ । 'संविधानले राज्यका अंगको निर्धारण, अधिकारको विभाजन र सन्तुलन (शक्ति पृथकीकरण) को बलियो प्रबन्ध गरेकाले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ, तर संविधानको भावनाअनुरूप हिँड्दै नेतृत्वको चरित्र प्रजातान्त्रिक र लोकतान्त्रिक हुन जरुरी छ'- सभामुख घिमिरेले लेख्नुभएकाे छ । संविधान जारी भएको पछिल्लो आठ वर्षमा संविधान कार्यान्वयनका धेरै काम सम्पन्न भएको र संविधानबमोजिम नै आवधिक निर्वाचनबाट निर्वाचित सरकार तीनवटै तहमा क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभएकाे छ । संविधान मुलुकको सर्वोच्च कानुन भएकाे पनि सभामुख घिमिरेकाे सन्देशमा उल्लेख छ । नयाँ संविधानको निर्माणसँगै गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता विषय संस्थागत भएको उल्लेख गर्दै उहाँले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै समृद्धि र सामाजिक न्यायको गन्तव्य संविधानमार्फत सुनिश्चित सन्देशमा लेख्नुभएकाे छ ।
संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा संसद्ले विशेष ध्यान र सक्रियता दिएको पनि सभामुख घिमिरेले उल्लेख गर्नुभएकाे छ । 'संसद्ले एकाधबाहेकका कानुनहरू निर्माण गरिसकेको छ, तर दीर्घकालीन असर गर्ने केही कानूनबारे छलफल र बहस भइरहेका छन्, आशा छ जसरी सहमतिको जगमा संविधान निर्माण गरेका छौँ, संविधान कार्यान्वयन गर्न आवश्यक ऐनहरू राजनीतिक सहमतिबाटै टुंगाेमा पुर्याउनेछौं'- उहाँले लेख्नुभएकाे छ ।
संविधानले विकास गरेका प्रणालीको सही सञ्चालन, व्यवस्थापन र कार्यान्वयन गर्न सकेमात्रै जनतालाई अनुभूत गराउन सकिने पनि उहाँले उल्लेख गर्नुभएकाे छ । सभामुख घिमिरेले संविधान निर्माण गर्न भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरू, घाइते, अपांग तथा शान्तिपूर्ण आन्दोलन गर्ने अगुवाहरूको योगदानलाई दिवसकाे अवसरमा स्मरण गर्नुभएकाे छ ।
