काठमाडाैं । सभामुख देवराज घिमिरे स्वदेश फर्किनुभएकाे छ ।
आयरल्याण्डको भ्रमण सकेर सभामुख घिमिरे आइतबार बिहान स्वदेश फर्किनुभएकाे हाे । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमण फलदायी रहेकाे बताउनुभयाे ।
आयरल्याण्ड भ्रमणमा क्रममा सभामुख घिमिरेले आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेल, आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्स र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर लगायतसँग भेटवार्ता गर्नुभएकाे थियाे । त्यहाँ उहाँले नेपाली समुदायसँग पनि भेटवार्ता गर्नुभएकाे थियाे ।
आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदा मन्त्री दर्राघ ओ ब्रायन, आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँग पनि भेटवार्ता भएकाे सभामुख घिमिरेले जानकारी दिनुभयाे ।
भ्रमणका क्रममा दुई देशबीचको संसदीय आदान प्रदान लगायत विषयमा आयरल्याण्डका दुवै सदनका सभामुख र अध्यक्षसँग भएको छलफल महत्त्वपूर्ण रहेकाे जानकारी दिनुभयाे । राष्ट्रपति, मन्त्रीहरुसँगको भेटले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मुलुकले लाभ लिन सक्ने विश्वास पनि सभामुख घिमिरेले व्यक्त गर्नुभयाे ।
आइरिस संसद्को तल्लो सदनका सभामुख फारगेलको निमन्त्रणामा सभामुख घिमिरे आइतबार साँझ आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गर्नुभएकाे थियाे ।
सभामुखकाे भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि सहभागी हुनुभएकाे थियाे ।
