काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशाेक राई साे विधेयक पेस गर्नुभएकाे हाे ।
त्यसअघि बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले विराेधकाे सूचना पेस गर्नुभएकाे थियाे । विधेयक पेस गर्नका लागि अनुमति माग्ने प्रस्तावविरुद्ध सांसद् प्रेम सुवालले दर्ता गराएको विरोधको सूचना बहुमतबाट अस्वीस्कृत भएको थियाे ।
त्यसपछि शिक्षामन्त्री राईले विधेयक सदनमा पेस गर्नुभएकाे थियाे ।
मन्त्री राईले भदाै २७ गते साे विधेयक प्रतिनिधि सभामा दर्ता गर्नुभएकाे थियाे । प्रतिनिधि सभाको अर्को बैठक असाेज १६ गते मंगलबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएकाे छ ।
आजकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका र चीन भ्रमणबारे सदनलाई जानकारी गराउनुभएकाे थियाे ।
