काठमाडाैं । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे विदेश भ्रमण असफल भएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् सिंहले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताउनुभयाे ।
प्रधानमन्त्रीकाे चीन भ्रमणबाट देशलाई केही फाइदा नभएकाे उहाँले बताउनुभयाे । 'प्रधानमन्त्रीले के तिर्थयात्राको लागि गरेको हो भ्रमण ? तिर्थयात्राको लागि त धेरै नेपाली दाजुभाई घुमिरहेका छन् नि, त्यसको लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि, प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो, देशलाई के फाइदा भयो ?'- सिंहले प्रश्न गर्नुभयाे ।
विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने भन्दै उहाँले प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने सन्देश दिएकाे पनि बताउनुभयाे । 'दुनियाँको कुनैपनि सरकार प्रमुखले कुनै देशमा गएर १० या ७ दिन बस्छ ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन, प्रधानमन्त्री व्यस्त भएको भए १-२ दिनको भ्रमण हुन्छ'- सिंहले भन्नुभयाे ।
