काठमाडाैं । नेकपा एमालेका सचिव एवं सांसद् योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन नसकेको बताउनुभएको छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् भट्टराईले बीआरआई लगायत सम्झौता कार्यान्वयनका महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल नै हुन नसकेको बताउनुभयाे ।
प्रधानमन्त्रीले तीर्थाटन गरेको र छुट्टी राम्रो गरी मनाएको समेत उहाँले बताउनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'प्रधानमन्त्रीकाे चीन भ्रमणमा जुन कुरामा सहमति हुनुपर्थ्याे, बहस हुनुपर्थ्याे, त्याे भएन, सामान्य खुद्रा मसिना कुराहरु भए, छुट्टी पनि राम्रै मनाउनुभयाे, मुख्य कुरा बीआरआईसम्बन्धी सम्झाैता कार्यान्वयनबारे देखिनेगरी केही पनि भएन ।'
उहाँले नेपालप्रति चीनका कतिपय आशंकाहरुलाई पनि प्रधानमन्त्रीको भ्रमणले विश्वास दिलाउन नसकेको बताउनुभयाे । अहिलेको विश्वपरिवेशको द्वन्द्वमा नेपाल फस्न नहुने र नेपालले पनि त्यही अनुसार देशहरुसँग सम्झौता गर्नुपर्ने सांसद् भट्टराईले बताउनुभयाे ।
अहिलेकाे सरकार जनपक्षीय र जनताकाे सरकार नभएकाले याे सरकारले जनताका पीरमर्का नहेर्ने सांसद् भट्टराईले बताउनुभयाे । सरकारले ठूलाठालु व्यापारी, कमिशनखाेर र दलालहरुकाे पक्षमा काम गरिरहेकाे उहाँले बताउनुभयाे । सरकारले सेटिङमा नै पेट्राेलियम लगायत दैनिक उपभाेग्य सामानकाे मूल्यवृद्धि गरेकाे बताउनुभयाे ।
