काठमाडाैं । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले निर्माणधीन संघीय संसद् भवनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने भएकाे छ ।
निर्माणधीन संघीय संसद् भवनको अवलोकनपछि साेमबार समितिले शहरी विकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीसँग प्रगति विवरण सहित छलफल गर्ने निर्णय गरेको हो । पटक पटक म्याद थप गर्दा पनि संघीय संसद् भवनको निर्माणमा ढिलाई भइरहेको समितिको ठहर छ ।
अनुगमनका क्रममा समिति सदस्यहरुले कामदारहरुसँग निर्माणका लागि भएको समस्याबारे जानकारी लिएको थियो । सिंहदरबारभित्र १ सय ७३ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन बनाउन २०७६मा सम्झौता भएपनि निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । २ पटक म्याद थप गर्दा पनि कामको गति बढेको नदेखिएकाले सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरिएको समिति सभापति दिपक सिंहले जानकारी दिनुभयो ।
चाडपर्व नजिकिँदै जाँदा मुलुकभरको राजमार्ग साथै यातायातको अग्रिम बुकिङका साथै बसको व्यवस्थाबारे यातायात मन्त्रालयसँग छलफल गर्ने निर्णय गरिएको सभापति सिंहले बताउनुभयो ।
