काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् असिम साहले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले पुरस्कारकाे रकम नदिएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् साहले सरकारले पुरस्कार दिन्छु भनेर ढाँटिरहेकाे बताउनुभयाे । क्रिकेट खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि सरकारले पुरस्कार दिन बिर्सिएको उहाँले बताउनुभयाे ।
सरकारले बधाई मात्र दिएको तर पुरस्कार नदिएको भन्दै सांसद् साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तपाईंहरू खेल्न जानोस् फर्किएर आउँदा खातामा पैसा जम्मा हुन्छ भनेर आश्वासन दिए पनि भुक्तानीको सुरसार नगरेकाे उहाँले बताउनुभयाे । 'नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्, सबैले बधाई दिएकै छन्, सरकारले पनि दिएकै होला, तर पुरस्कार दिएका छैनन्, सरकारले बिर्सिएको कुरा सदनमा पटकपटक उठाउँदा मलाई लाज लागेको छ । खेलाडीले लिग जितिरहे तर सरकारले उदारो पुरस्कार घोषणा गरिरह्यो'- सांसद् शाहले भन्नुभयाे । खेलाडीले पाउनु पर्ने रकम १६-१७ लाख भइसक्दा समेत नपाएको भन्दै उहाँले खेलाडीलाई पुरस्कार देउ भनेर सदनमा बाेल्दा आफूहरुलाई समेत लाज लागिसकेकाे बताउनुभयाे । 'बिचाैलिया दलाल, विचार, ठेकेदार कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला, तर खेलाडीलाई झुटो आश्वासनमा झुलाइएको छ'- उहाँले भन्नुभयाे ।
