काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै हिंसालाई प्रश्रय दिइरहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै अध्यक्ष ओलीले अपराधीलाई छाडेर सुशासनको कुरा गर्न सरकारलाई पटक्कै नसुहाउने बताउनुभयाे ।
अपराधी र सुन तस्करलाई संरक्षण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका कुरा नगरेकाे राम्राे हुने समेत उहाँले बताउनुभयाे ।
नेपालगञ्जमा दिनदहाडै खुँडा प्रहार गरी मान्छे मार्ने (रिगल डन) र किशाेरीमाथि एसिड छ्याप्नेलाई सरकारले छाडेको भन्दै अध्यक्ष ओलीले कडा आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे - 'एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई, अदालतले जन्मकैद तोकेको मान्छेलाई ३-४ वर्ष जेलमा राखेर छोडिएको छ, नेपालगञ्ज आतंकित छ, पीडित परिवार आतंकित छन्, यस्तायस्ता मानिस छानीछानीकन किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ?'
मुस्कान खातुनलाई एसिड छ्याप्नेलाई सरकारले उन्मुक्ति दिएकाेमा उहाँले आपत्ति जनाउनुभयाे । पीडितलाई उपचार दिन नसक्ने तर एसिड छर्ने अपराधीलाई उन्मुक्ति दिने काम सरकारले गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । कडा कानुन ल्याइयाे भनेर खुशीयाली मनाइएकाे र आफूले कडा कानुन नै ल्याएकाे भन्दै उहाँले सरकारले त्यस्ता अपराधीलाई उन्मुक्ति दिएकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'सुशासन छँदैछैन, एसिड आक्रमण विरुद्ध मैले अध्यादेशबाट कानुन ल्याउनुपर्यो, कडा कारबाही गर्ने कानुन बनेकोमा सबै महिला खुशी पनि थिए, मैले कडा कानुन ल्याएकै हाे, तर मुस्कान खातुनको घाउ निको भएको छैन, उनलाई एसिड प्रहार गर्ने आक्रमणकारीलाई सरकारले छोडिसक्यो, फागुन १ को उत्सवमा छाड्यो कि संविधान दिवसमा मैले मिति बिर्सिएँ, तर अदालतले १० वर्ष कैद तोकेकोमा सरकारले ४ वर्ष नपुग्दै छाडिसक्यो, पीडितलाई उपचार गरिदिन नसक्ने, अपराधीलाई छाड्ने अनि सुशासनको नारा लगाउने ?' अपराधीलाई सरकारले मनलाग्दी हटाउने हाे भने अपराधीका लागि किन कानुन बनाउनुपर्याे भन्ने प्रश्न पनि उहाँले गर्नुभयाे ।
सुशासन सरकारकाे अभियान नभएर सरकारको काम अनि कर्तव्य भएकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे । अध्यक्ष ओलीले गृहमन्त्री आफैंले तस्करहरुको संरक्षण गरिरहेकाे बताउनुभयाे । उहाँले व्यंग्य गर्दै भन्नुभयाे - 'गृहमन्त्रीले सुशासनका लागि अभियान, याेग्यता पुगेका न्यायाधीश नियुक्ति, पुण्य कर्म गरेकाहरुकाे कैद मिनाहा यही हाे सुशासनतर्फकाे अभियान ? याे कुशासनकाे अभियान हाे हामी विराेध गरीराखेका छाैं गर्छाैं ।'
सुन तस्करी काण्डमा माओवादी नेताहरु जाेडिएकाे विषयमा छानबिन नगरिएकाेमा पनि अध्यक्ष ओलीले आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे - 'हिजो माननीय गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो, सुशासनको अभियान चलाएको त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् भनेर, कुन विरोधी लागे तपाइँको अभियान रोक्न ? साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ, तपाइँ ढाकछोप गर्न लाग्नुहुन्छ, १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ, छानबिन गर्न आयोग बनाउँभन्दा एक महिनासम्म लडाइँ गर्नुपर्छ, छानबिन गर्दा के बिग्रिन्थ्यो महासय तपाइँको ?'
सुन काण्डले अहिले सरकारलाई नै हैरान पारिरहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । सुन तस्करी काण्डकाे अनुसन्धानका लागि ३ सदस्यीय जाँचबुझ आयाेग गठन गर्ने सहमति भएपनि सरकारलेआफ्नो मान्छे राख्नका लागि आयोगमा ४ जना राखेको उहाँले बताउनुभयाे ।
गठबन्धनका नेता जोगाउन रुमालले होइन गम्छाले पसिना पुछ्दै ललिता निवासको फाइल बन्द गरिएकाे अध्यक्ष ओलीले बताउनुभयाे । ललिता निवासमा सरकारी जमिन आफ्नाे बनाउनेलाई कारबाही गर्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
उहाँले भन्नुभयाे - 'निकै चर्कोसँग ललिता निवासको फाइल खोलिन्छ भन्नुहुन्थ्यो, त्यो फाइल बन्द गराउन क्या गाह्रो पर्यो है, कस्तो गाह्रो पर्यो बन्द गर्न, मुद्दा बुझाउन नसक्ने, कसरी उम्काउने ? कसरी ढाकछोप गर्ने ? सत्ता गठबन्धन परेपछि कसरी जोगाउने भनेर पसिना आयो त्यतिबेला, रुमालले नपुगेर गम्छा लिएर पुछ्नुपरेको थियो पसिना ।'
सरकारले विकास निर्माणका काम र विदेश सम्बन्ध समेत खलबल्याएको अध्यक्ष ओलीले बताउनुभयाे ।
