काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे गठबन्धन सरकार संविधान र लाेकतन्त्रका लागि मन्द विष भएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार जति समय टिक्छ त्यति समय देश बर्बाद भइरहने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'याे जनता र संविधान छलेर बनेकाे गठबन्धन हाम्राे संविधान र लाेकतन्त्रका लागि स्लाे पाेइजन हाे, एकैचाेटी पुक्लुक्कै पारीहाल्न पनि सक्दैन, यसले लाेकतन्त्र र संविधान कार्यान्वयनका लागि स्लाे पाेइजनकाे काम गरीराखेकाे छ ।'
सरकारले संसद् र संसदीय समितिलाई बिजनेज नदिएकाे र प्रधानमन्त्रीले नै १७ दिन संसद्लाई बन्दक बनाएकाे अध्यक्ष ओलीले बताउनुभयाे । अहिलेकाे सरकारलाई गठबन्धन टिकाउन मात्रै ध्यान केन्द्रित रहेकाे बताउनुभयाे । '१७ दिन किन बन्द गर्नुभयाे ? यहाँ संसद् चल्दा के बिग्रिन्थ्याे ?'- उहाँकाे प्रश्न छ ।
प्राेफेसरकाे ढाड भाँच्ने, डाक्टर कुट्दिन भन्ने र अर्काे दिन नै डाक्टर कुट्ने काम सरकारले गरिरहेकाे बताउनुभयाे । सरकारले विद्यालय शिक्षा विधेयक सच्चाएर ल्याउनुपर्ने बताउनुभयाे । शिक्षकसँग भएकाे सहमति र सम्झाैता कार्यान्वयन गर्न र शिक्षा विधेयकमा ती सहमति राखेर मात्र ल्याउन समेत अध्यक्ष ओलीले बताउनुभयाे । शिक्षकहरुमाथि कुनै छलछाम नगर्न उहाँले सरकारलाई चेतावनी दिनुभयाे ।
गठबन्धनले जन्माएका २ सरकारले न्यायालयमाथि गम्भीर प्रहार गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । गत चुनावमा ज्यानसँग मत साटिएकाे उहाँले बताउनुभयाे ।
धाँधली गरेर चुनाव गराउने मानिसलाई न्यायाधीश बनाइएकाे अध्यक्ष ओलीले बताउनुभयाे । गत चुनावमा स्याङ्जामा बुथ कब्जामा सघाउने अधिकृतलाई न्यायाधीश बनाइएकाे भन्दै उहाँले पितृकाे नाममा अरबमा भएका मानिसकाे नाममा चुनाव गराउन सहयाेग गर्ने मान्छे न्यायाधीश भएपछि त्यस्ताबाट कस्ताे न्यायकाे अपेक्षा गर्ने भन्ने प्रश्न समेत उहाँले गर्नुभयाे । लुटिएकाे मत न्यायालय र संसद्काे घाउ बनिरहेकाे र क्यान्सर बन्ने खतरा रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँकाे प्रश्न छ - 'कस्ताे न्यायालय बनाउन खाेजिरहनुभएकाे छ ? १९ औं नम्बरका खुल्ला प्रतियाेगितामा फेल भएका नियुक्तिमा मन्त्रीकाे कृपामा १ नम्बरमा परेका, त्यस्ताे धाँधली हुँदा केही भएकाे छैन भनेर लेखेर दिन अप्ठेराे नमान्ने, त्याे याेग्यता पूरा गर्न हस्ताक्षर गरेका, धाँधलीका सम्पूर्ण गतिविधि मिलाएका, यस्ताे विशेष दक्षता भएका व्यक्तिलाई यहाँहरुले न्यायाधीश नियुक्त गर्नुभयाे ।'
आफू विरुद्धकाे मुद्दामा उफ्रिउफ्रि सक्रिय भूमिका खेल्न फर्मका सहयाेगी वकिललाई सरकारले न्यायाधीश बनाएकाे बताउँदै अध्यक्ष ओलीले प्रश्न गर्नुभयाे - 'कति याद राखेकाे आफ्नाे सेवा गरेकाकाे, ठ्याक्क टिपेर, फेल भएका न्यायाधीश, यसैगरी हुन्छ डेमाेक्रेसी ? यसैगरी बन्छ बलियाे अदालत ? यसैगरी हुन्छ निष्पक्ष न्यायालय ?'
निष्पक्ष फैसला गर्ने र गठबन्धनलाई सहयाेग नगर्ने न्यायाधीशलाई सरकारले विकटमा सरुवा गरिरहेकाे पनि उहाँले बताउनुभयाे । राज्यका संयन्त्रकाे दुरुपयाेग नगर्न अध्यक्ष ओलीले चेतावनी दिनुभयाे । एमाले र केपी ओलीमाथिकाे प्रहार हाे भनेर नरमाउन सरकारलाई सचेत गराउँदै उहाँले यस विषयलाई साधारण र नियमित सरुवाका रुपमा लिन नसकिने उहाँले बताउनुभयाे । 'सरकार-गठबन्धन खुशी हाेला याे त एमालेमथिकाे प्रहार हाे, केपी ओलीमाथिकाे प्रहार हाे भनेर रमाइराखेकाे हाेला, म गम्भीरतापूर्वक सदनमा रेकर्ड गराउन चाहान्छु - याे घटनालाई साधारण नियुक्ति र सरुवाकाे विषयमा लिन सकिँदैन, याे साधारण नियुक्ति र सरुवाकाे कुरा हाेइन, न्यायप्रणालीसँग, अदालतकाे स्वच्छता, मर्यादासँग, अदालतमाथिकाे जनविश्वाससँग जाेडिएकाे विषय छ, तपाइँहरु अदालतकाे मर्यादामाथि प्रहार गरिरहनुभएकाे छ, अदालतमाथिकाे जनविश्वास कमजाेर पार्ने खेल खेलिरहनुभएकाे छ र त्याे दृष्टता गरिरहनुभएकाे छ, न्यायालयलाई स्वतन्त्र भूमिका खेल्ने त्याे हैसियत र सामार्थ्यबाट कमजाेर पार्ने दुस्प्रयास गरिरहनुभएकाे छ ।'
परीक्षामा फेल भएकाहरुलाई न्यायाधीश नियुक्त गर्ने काम संविधानमाथिकाे प्रहार र अनुचित हस्तक्षेप रहेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'तपाइँहरुले न्यायालयलाई स्वतन्त्र न्यायालय बनाउन नदिएर गठबन्धनकाे विभाग बनाउन खाेजेकाे ? सम्भव छैन, हामी पनि छाैं याे देशमा, हामी न्यायालयलाई स्वतन्त्र, सम्मानित मर्यादित न्यायालयकाे रुपमा राख्न चाहान्छाैं, तपाइँहरुकाे विभाग बनाउन दिँदैनाैं, यस विषयमा जिम्मेवार हुन आग्रह गर्छाैं, हुन त प्रधानमन्त्रीले के भन्नुहुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ठिकै भएकाे हाेला भन्ने लाग्या हाे मलाई त थाहा छैन भन्नुहाेला, यस्ता कुराकाे जिम्मा किन लिने ।'
सरकारमा हुँदा बचेपनि यस विषयमा सरकार, प्रधानमन्त्री र गठबन्धनले न्यायाधीश नियुक्तिबारे जवाफ दिनैपर्ने बताउनुभयाे । न्यायाधीश नियुक्ति र सरुवाकाे घटना समुद्रमा देखिने आइसबरकाे टुप्पाे मात्रै रहेकाे भन्दै उहाँले आइसबरकाे भित्रि र भिमकाय आकार सहजै अनुमान गर्न सकिने बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'याे आइसबर संवैधानिक दुर्घटनाकाे कारक हुन सक्छ, सावधान हुनु सरकार ।'
