काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले गठबन्धन सरकारका मन्त्रीलाई आफैँले दिएको धम्कीले आफैँलाई खाएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले यो फाइल र त्यो फाइल खोलिन्छ भनेर प्रतिपक्षीलाई धम्क्याउने गठबन्धनलाई ती फाइल थन्क्याउन अहिले महाकाल परेको बताउनुभयो । आफूले त्यसै बेला कुन कुन फाइल खोल्ने हो खोल्नुस् र आफैँ जेल जानुस् भनेर भनेको ओलीले स्मरण गराउनुभयो । अहिले आफूले जे भनेको त्यही भएको उहाँले बताउनुभयो ।
बालुवाटारको फाइल खोल्ने कुरा निकै चर्कोसँग उठाएको बताउँदै अहिले त्यही फाइलले सरकार र मन्त्रीलाई पसिना कढाएको ओलीले बताउनुभयो । ‘ललिता निवासको फाइले खोलिन्छ ! त्यो फाइल बन्द गर्न क्या गाह्रो पर्यो, कस्तो गाह्रो पर्यो तपाईँहरूलाई, फाइल त खोल्नुभयो, तर बन्द गर्न कस्तो गाह्रो पर्यो, आज बुझाउने भनेको मुद्दा बझाउन नसक्ने, भोलि बुझाउने भनेको मुद्दा बुझाउन नसक्ने, कसरी ढाकछोप गर्ने, कसरी उम्काउने, कसरी अलग्गै राख्ने, सत्ता गठबन्धन परेपछि त त्यसलाई कसरी जोगाउने, आहा पसिना आएको त्यति बेला, रुमालले पुगेन, गम्छा लिएर पुछ्नु पर्थ्यो तपाईँहरूलाई त्यति बेला पसिना’, उहाँले भन्नुभयो ।
सुन काण्डले पनि सरकारलाई त्यतिकै हैरान पारेको उहाँले बताउनुभयो । छानबिन समिति बनाउने काम असोज ५ गते थाल्ने भनेकोमा बल्ल १४ गते सुरु भएको र छानबिन समितिमा तीन जना राख्ने सहमति भएकोमा आफ्ना मान्छे राख्नै पर्ने भएकोले चार जना राखिएको ओलीले बताउनुभयो ।
आफ्नो नाममा गठबन्धनले बारी बारीमा बुख्याचा राखेको ओलीले बताउनुभयो । तर ती बुख्याचाले केही काम गर्न नसक्ने उहाँले चेतावनी दिनुभयो । बुख्याचाले चरा तर्साउन सक्ने भए पनि राजनीति गरेर जीवन हत्केलामा राखेर आएको आफू नतर्सिने उहाँले प्रष्ट पार्नुभयो ।
