काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारकाे औचित्य समाप्त भएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बाेल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने बताउनुभयाे । वर्तमान सरकारले संसद् र जनता दुवैको सामना गर्न नसक्ने भन्दै उहाँले वर्तमान सरकार जति समय राख्यो त्यति नै देशलाई क्षति हुने बताउनुभयाे ।
आफूले औपचारिक र अनाैपचारिक वार्ताका क्रममा परिस्थितिकाे गाम्भिर्यतालाई ध्यान दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटकपटक सुझाव दिएपनि आफ्नाे सुझाव नसुनेकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे ।
राष्ट्रिय एकतालाई मजबुद तुल्याउन राष्ट्रिय मुद्दामा सबै एकजुट हुनुपर्ने भन्दै उहाँले देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'म सबै राजनीतिक दलका माननीय सदस्यज्यूहरुलाई आग्रह गर्न चाहन्छु, राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा एक हौँ, राष्ट्रिय हितहरुलाई सर्वोपरि राख्दै विकासका प्रयासमा एकजुट होऔँ, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डतालाई कमजोर पार्ने कार्यान्वयन सामाजिक सद्भाव कायम राख्न सबै गम्भीर हुनुपर्छ ।'
अहिलेकाे नालायक गठबन्धन सरकारकाे अस्तित्व टिकाएर देश बर्बाद पारेर एकजुट हुन नसकिने भन्दै उहाँले यसकाे विकल्प खाेज्नुपर्ने पनि बताउनुभयाे ।
सरकार विकास निर्माण र जनसेवामा देखिनुपर्नेमा सरकार हराएकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'विकास मात्रै हाेइन, विकास, ज्ञान र प्रविधिमा विभिन्न राष्ट्रहरु प्रतिष्पर्धामा छन्, तर अपसाेच यहाँ सरकार हराएकाे छ, राष्ट्र, जनता र संसद् छलिरहेकाे छ, सरकार प्रमुख खाेज्नुपर्ने अवस्था आएकाे छ, आखिर शासन चलाउन प्रधानमन्त्री चाहिने रहेनछ, अरु कसैले चलाइरहेकाे रहेछ ।'
अहिलेकाे गठबन्धन सरकारले संसद् र जनता फेस गर्न नसक्ने भन्दै अध्यक्ष ओलीले बताउनुभयाे । देशमा सरकार प्रमुख खोज्नुपर्ने अवस्था आएको भन्दै उहाँले प्रधानमन्त्री नभए पनि देश चल्ने रहेछ भन्ने सन्देश पछिल्लाे समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै दिइरहनुभएकाे बताउनुभयाे ।
विकास निर्माणकाे अभियानलाई गठबन्धनका २ सरकारले अवरुद्ध पारेका उहाँले बताउनुभयाे । निर्माण सुरु भएका आयाेजना राेक्ने र भएका पनि चलाउने कुरामा सरकारले चासाे नदिएकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
नयाँ गेम चेञ्जिङ आयाेजना सञ्चालन र कार्यान्वयन गर्न पनि अहिलेकाे सरकार असफल भएकाे उहाँले बताउनुभयाे । संविधान र व्यवस्थाको रक्षामा पनि असफल भएको भन्दै सरकारको विकल्प खोज्नका लागि अध्यक्ष ओलीले आह्वान गर्नुभयाे । उहाँले भन्नुभयाे - 'सर्भिस डेलिभिरी दिन नसक्ने, डेभलपमेन्ट डेलिभरी दिन नसक्ने, केवल रित्तो कोल अथवा आइरो नहालेको जाँतो घुमाएर सत्ता भोग गर्ने पद अशक्त यो सरकारको अझैपनि औचित्य केही छ र ? अब थप क्षति हुनबाट राष्ट्रलाई जोगाउनुपर्छ, म सबै माननीयज्यूहरूमा, सबै दलहरूमा आग्रह गर्दछु ।'
साढे २ वर्ष शासन गरेकाे गठबन्धनका २ सरकारले देश र जनताका पक्षमा गरेका कामबारे सदनलाई जानकारी गराउन समेत उहाँले चुनाैती दिनुभयाे । कति बाटाे बन्याे, कतिले राेजगारी पाए के-के भए भन्नेकुरा तथ्यमा प्रस्तुत गर्न अध्यक्ष ओलीले चुनाैती दिनुभयाे । उहाँले भन्नुभयाे - 'जनताकाे जीवनस्तरमा के कति परिवर्तन भयाे, कति गरिबी निवारण भयाे, निरपेक्ष गरिबीकाेमाथि कतिलाई उठाउनुभयाे, कति उद्याेगहरु स्थापना गराउनुभयाे, कति किलाेमिटर बाटा बनाउनुभयाे, कति हवाईमैदानकाे स्तराेन्ति भयाे, कति विद्यालय पुर्ननिर्माण कि नयाँ निर्माण भए, अस्पतालहरु के भए तथ्यमा आउनुस् ।'
एमाले सरकारले थालेका आयाेजनाहरु के कति सम्पन्न भए भन्ने जवाफ दिन पनि अध्यक्ष ओलीले आग्रह गर्नुभयाे । आफूहरुले सीमित स्राेतसाधनबीच पनि विकास आयाेजना अगाडि बढाएकाे उहाँले स्मरण गर्नुभयाे । 'कैयाैं आयोजनाहरू अलपत्र छन्, बनिसकेका पनि सञ्चालन हुन सकेका छैनन्, कतिपय खारेज गरिएको छ, कतिपय देखाउनका लागि निरन्तरता दिइएको छ, कतिपय आयोजनाहरूलाई बजेट नै दिइएको छैन,कतिलाई सीमित बजेट दिइएकाे छ, हामीले सम्पन्न पूर्वाधारको प्रयोग गरी यो आर्थिक उपार्जन गर्ने कुरा यो सरकारको प्राथमिकतामा परेन ।'
अहिलेकाे सरकारले रेल, पानीजहाज र सेटलाइटकाे विषय सुन्नै नसक्ने समेत अध्यक्ष ओलीले बताउनुभयाे । अरुले असम्भव देख्ने काम एमालेले गरेकाे र आगामी दिनमा पनि गर्ने समेत उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'मानव जातीले अन्तरिक्षकाे अनन्त देखि प्रशान्तकाे फेदसम्म आफ्नाे पहुँच बनाइसकेकाे छ, हामीले सामुद्रिक पहुँचकाे याेजना गर्दा मजाक ठान्छ, म स्पष्ट गर्दछु - यी अरुले असम्भव देख्ने, अरुकाे क्षमता बाहिरका काम यहाँहरु छाेडिदिए हुन्छ, पछि एमालेकाे सरकारले गर्नेछ, अरुकाे बुताकाे कुरा हाेइन याे ।'
खानेपानी आयाेजनाहरुकाे काम के भयाे, लुम्बिनी र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न किन सकिएन, स्वास्थ्य बीमाकाे कार्यान्वयन के भइरहेकाे छ, शिक्षा र स्वास्थ्यमा के कति प्रगति भयाे भन्नेबारे पनि सदनलाई जवाफ दिन उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
देशमा सञ्चालिन परियोजना समेत सञ्चालन गर्न नसक्ने सरकारले संविधान र व्यवस्थाको रक्षामा पनि असफल भएको अध्यक्ष ओलीले बताउनुभयाे ।
सरकारको प्राथमिकता वैदेशिक ऋण लिएर कार्यकर्तालाई करारमा जागि खुवाउनेमा देखिएको पनि उहाँले बताउनुभयाे । अर्थतन्त्र खराब अवस्थामा पुग्दा पनि सरकार वैदेशिक भ्रमणमा रमाइरहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
अर्थतन्त्र कुनै पार्टी र दलकाे हाेइन यसकाे सुधारमा उपायतिर लागाैं भनेर प्रतिपक्षले भन्दा सरकारले वेवास्ता गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'याे सरकार बाहिर नांग्लाे ठटाउँछ, भित्र सुन तस्कर गर्छ, गठबन्धनका नेताकाे बचाउमा लाग्छ, यहाँनिर सरकार डुबेकाे देखिन्छ, अर्थतन्त्रकाे संकट गहिरिँदै गएकाे छ ।'
