काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे गठबन्धन रेल, पानीजहाज र स्याटेलाइटकाे विषय सुन्नै नसक्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बाेल्दै अध्यक्ष ओलीले एमालेले सामुद्रिक पहुँचकाे याेजना अघि सार्दा गठबन्धनले मजाक ठानेकाे बताउनुभयाे ।
गठबन्धनले मजाक र असम्भव ठानेकाे कुरालाई एमालेले सम्भव बनाएकाे स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि एमालेले नै ती काम गर्ने बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'मानव जातीले अन्तरिक्षकाे अनन्त देखि प्रशान्तकाे फेदसम्म आफ्नाे पहुँच बनाइसकेकाे छ, हामीले सामुद्रिक पहुँचकाे याेजना गर्दा मजाक ठान्छ, म स्पष्ट गर्दछु - यी अरुले असम्भव देख्ने, अरुकाे क्षमता बाहिरका काम यहाँहरु छाेडिदिए हुन्छ, पछि एमालेकाे सरकारले गर्नेछ, अरुकाे बुताकाे कुरा हाेइन याे ।'
सरकार विकास निर्माण र जनसेवामा देखिनुपर्ने यहाँ सरकार हराएका उहाँले बताउनुभयाे । एमालेले थालेकाे विकास निर्माणकाे अभियानलाई गठबन्धनका २ वटा सरकारले अवरुद्ध पारेका अध्यक्ष ओलीले बताउनुभयाे ।
निर्माण सुरु भएका आयाेजना राेक्ने र सम्पन्न भएका चलाउने कुरामा सरकारले चासाे नदिएकाे अध्यक्ष ओलीले बताउनुभयाे । नयाँ गेम चेञ्जिङ आयाेजना सञ्चालन र कार्यान्वयन गर्न अहिलेकाे सरकार असफल भएकाे उहाँले बताउनुभयाे ।
संविधान र व्यवस्थाको रक्षामा पनि सरकार असफल भएको भन्दै सरकारको विकल्प खोज्नका लागि अध्यक्ष ओलीले आह्वान गर्नुभयाे । उहाँले भन्नुभयाे - 'सर्भिस डेलिभिरी दिन नसक्ने, डेभलपमेन्ट डेलिभरी दिन नसक्ने, केवल रित्तो कोल अथवा आइरो नहालेको जाँतो घुमाएर सत्ता भोग गर्ने पद अशक्त यो सरकारको अझैपनि औचित्य केही छ र ? अब थप क्षति हुनबाट राष्ट्रलाई जोगाउनुपर्छ, म सबै माननीयज्यूहरूमा, सबै दलहरूमा आग्रह गर्दछु ।'
साढे २ वर्ष शासन गरेकाे गठबन्धनका २ सरकारले देश र जनताका पक्षमा गरेका कामबारे सदनलाई जानकारी गराउन समेत उहाँले चुनाैती दिनुभयाे । कति बाटाे बन्याे, कतिले राेजगारी पाए के-के भए भन्नेकुरा तथ्यमा प्रस्तुत गर्न अध्यक्ष ओलीले चुनाैती दिनुभयाे । उहाँले भन्नुभयाे - 'जनताकाे जीवनस्तरमा के कति परिवर्तन भयाे, कति गरिबी निवारण भयाे, निरपेक्ष गरिबीकाेमाथि कतिलाई उठाउनुभयाे, कति उद्याेगहरु स्थापना गराउनुभयाे, कति किलाेमिटर बाटा बनाउनुभयाे, कति हवाईमैदानकाे स्तराेन्ति भयाे, कति विद्यालय पुर्ननिर्माण कि नयाँ निर्माण भए, अस्पतालहरु के भए तथ्यमा आउनुस् ।'
एमाले सरकारले थालेका आयाेजनाहरु के कति सम्पन्न भए भन्ने जवाफ दिन पनि अध्यक्ष ओलीले आग्रह गर्नुभयाे । आफूहरुले सीमित स्राेतसाधनबीच पनि विकास आयाेजना अगाडि बढाएकाे उहाँले स्मरण गर्नुभयाे । 'कैयाैं आयोजनाहरू अलपत्र छन्, बनिसकेका पनि सञ्चालन हुन सकेका छैनन्, कतिपय खारेज गरिएको छ, कतिपय देखाउनका लागि निरन्तरता दिइएको छ, कतिपय आयोजनाहरूलाई बजेट नै दिइएको छैन,कतिलाई सीमित बजेट दिइएकाे छ, हामीले सम्पन्न पूर्वाधारको प्रयोग गरी यो आर्थिक उपार्जन गर्ने कुरा यो सरकारको प्राथमिकतामा परेन ।'
खानेपानी आयाेजनाहरुकाे काम के भयाे, लुम्बिनी र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न किन सकिएन, स्वास्थ्य बीमाकाे कार्यान्वयन के भइरहेकाे छ, शिक्षा र स्वास्थ्यमा के कति प्रगति भयाे भन्नेबारे पनि सदनलाई जवाफ दिन उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
