काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
मंगलबार बसेकाे बैठकमा गणपूरक संख्या नपुग्दा विद्युत् विधेयक, २०८० पेस हुन सकेन । गणपूरक संख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि स्थगित गर्नुभएकाे हाे ।
बैठकमा ऊर्जा जलस्राेत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले पेस गर्नुभएकाे विधेयक सभामुखले निर्णयार्थ प्रस्तुत गर्नै लाग्दा नेमकिपाका सांसद् प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गर्नुभयाे ।
गणपूरक संख्या यकिन गर्दा ६९ हुनुपर्नेमा ६६ मात्रै भयाे । त्यसपछि सभामुखले गणपूरक संख्या नपुगेपछि आजको कार्यसूचीको कार्यक्रम हटाइएकाे बताउनुभयाे ।
त्यसअघि सांसद् सुवालले प्रस्ताव पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएकाे विरोधको सूचना बैठकबाट बहुमतले अस्वीकृत भएकाे थियाे । त्यसपछि मात्र उर्जामन्त्रीले विधेयक पेस गर्नुभएकाे थियाे । तर गणपूरक संख्या नपुगेपछि पेस हुन सकेन र बैठक स्थगित भयाे ।
