काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवस फागुन १ मा दिइने बिदा तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बाेल्दै अध्यक्ष ओलीले आगामी मन्त्रिपरिषद् बैठकबाट बिदा दिने निर्णय फिर्ता लिन सरकारसँग माग गर्नुभयाे ।
हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन नेपाली जनता मञ्जुर नभएका उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन नेपाली जनता मञ्जुर छैनन्, हामी छुट्टी मनाइ मनाइकन नाचगान र भतेर गर्न तयार छैनौँ, आउने मन्त्रिपरिषद् बैठकबाट याे निर्णय फिर्ता लिनुस् ।'
बिदा दिने निर्णय फिर्ता नलिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युद्ध त्याग्नुभएकाे छैन भन्ने पुष्टि हुने पनि उहाँले बताउनुभयाे । आफूहरुको विरोधका बाबजुद सरकारले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेको अध्यक्ष ओलीले बताउनुभयाे ।
बिदा फिर्ता नलिए एमालेले जस्ताेसुकै कदम चाल्ने चेतावनी उहाँले दिनुभयाे । अध्यक्ष ओलीले आफ्ना सयाैं कार्यकर्ता जनयुद्धमा मरेकाे कुरा कांग्रेसले सरकारमा बस्नका लागि बिर्सिएर युद्धलाई उत्सवकाे रुपमा मनाउने माओवादी कदमलाई साथ दिएकाे बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्ड अहिले पनि हिंसाकाे जयगानमा तल्लिन रहेकाे र याे कुरा प्रधानमन्त्रीकै व्यवहारले देखाएकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'कांग्रेसका पनि सयाैं कार्यकर्ता रेटिए हाेलान्, तर सरकारमा बस्नका लागि उसले बिर्सियाे हाेला, मैले बिदा नराख्नुस् भनेर सुझाव दिएँ, उहाँ (प्रचण्ड) ले मैले शेरबहादुरजीसँग कुरा गरेँ उहाँ मञ्जुर हुनुभएकाे छ भनेर जवाफ दिनुभयाे, हामी शान्तिकाे प्रयास गर्नेलाई मुखताेड जवाफ दिनुभयाे, उहाँ अहिले पनि हिंसाकाे जयगानमा हुनुहुन्छ, याे स्वीकार्य छैन, याे निर्णय फिर्ता लिनुहुन्न भने यसका विरुद्ध हामीले कदम चाल्छाैं, फिर्ता नलिए उहाँले युद्ध त्याग्नुभएकाे छैन भन्ने पुष्टि हुन्छ ।'
हिजोका कुरा बिर्सिएर शान्तिपूर्ण मेलमिलापका रूपमा अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाउने घाेषणा गर्नु दु:खद कुरा भएकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'घाउको खाटा उप्काएर नुनचुक लगाउने काम किन गर्ने, हिंसा सुरु गरेकाे दिन राष्ट्रकाे हर्ष र उल्लासकाे दिन हुन सक्दैन, हामीले युद्धविराम किन गर्नुपर्याे, बृहत् शान्ति सम्झाैता किन गर्नुपर्याे ? त्याे ठिक नभएर हामीले शान्तिकाे बाटाे राेज्याैं, शहीदका परिवार बच्चाबच्ची पढाउने जिम्मा नलिने, तिनका अगाडि तपाइँ उत्सव मनाउने ? घाइतेको उपचार नगर्ने, तपाइँ उत्सव मनाउने ? कर्मचारीलाई बिदा दिइदिइ उत्सव मनाउने ?'
शान्ति पक्रियालाई टुंग्याउनका लागि याे शुभ संकेत नभएकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे । द्वन्द्वकाे आहालमा शासन गर्ने सरकारकाे उद्देश्य देखिएकाे उहाँले बताउनुभयाे ।
अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री प्रचण्ड तयार नभएकाे बताउनुभयाे । आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा प्रचण्डले असहयाेग गरेकाे भन्दै उहाँले जश अर्कोले लिन्छ भनेर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रचण्डले नचाहेकाे बताउनुभयाे । शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्नेमा एमाले रहेकाे र धेरै अगाडि देखि पहल गरिरहेकाे अध्यक्ष ओलीले स्मरण गराउनुभयाे ।
शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न प्रचण्ड र तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि आफूले आग्रह गरेकाे तर नमानेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'मैले प्रधानमन्त्रीको हैसियतमा शान्ति प्रक्रिया टुंग्याउन खोज्दा मेरो साथैमा बसेका सँगैको अध्यक्षको साथ पाइनँ, समिति बनाउन एक वर्ष, नाम दिन अर्को एक वर्ष, तपाइँ (प्रचण्ड-देउवा) हरू मिलाएर आउनुस्, टुंग्याउने प्रस्ताव ल्याउनुस् म टुंग्याउँछु भन्दा मान्नुभएन, शान्ति प्रक्रिया होइन तपाइँहरूलाई जश लिने चिन्ता थियो, त्यसकारण त्यसको श्रेय केपी ओलीलाई किन दिने भनेको होइन ? त्यसैले अझैसम्म शान्ति प्रक्रिया टुंगिएको छैन, प्रधानमन्त्री शान्ति प्रक्रियाका घाउ टुंग्याउन चाहनुहुन्न, बरु द्वन्द्व पीडितलाई नुनचुक छर्किएर आन्दोलन सिर्जना गर्न खाेज्नुभएकाे छ ।'
गठबन्धन सरकारले अपराधीलाई आममाफी दिइरहेकाे, हिंसालाई बढवा दिइरहेकाे र सामाजिक सद्भाव बिथाेल्ने काम गरिरहेकाे उहाँले बताउनुभयाे । सामाजिक सद्भाव बिथाेल्ने काममा प्रधानमन्त्री नै सक्रिय रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'जातीय राज्यमा फर्काउँछु भनेर भाेट माग्नुभएकाे कहिलेका लागि हाे ? यस्ता कुराले देश, जनता राजनीतिक दल र प्रणालीप्रति वितृष्णा फैलाउने काम गरेकाे छ, यस्ता क्रियाकलाप बन्द गराउनुस् ।'
सरकारी सम्पत्ति कब्जा गरेर बस्न पाइन्छ कि पाइँदैन ? बाउबलमा चल्ने कि कानुनमा चल्ने देश ? भन्दै उहाँले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्नुभयाे ।
