काठमाडौं । दशैं आयो, दशा आयो, जनतासँग दशैं मनाउन पैसा छैन तर सरकार भने तस्करी र भ्रष्टाचारमा रमाएको अभिव्यक्ति सांसद् कुमार दशौंदीले दिनुभएको छ । राष्टिय सभाको आजको बैठकमा बोल्दै दशौंदीले महंगी व्यापक बढेको, महंगी नियन्त्रण गर्न सरकारले वास्तै नगरेको बताउनुभयो ।
सरकार जनतालाई मार्न आएको कि महंगीको मारले मार्न आएको हो भन्ने प्रश्न उठाउँदै दशौंदीले भन्नुभयो– ‘सर्वसाधारणलाई राहत दिन सरकारको ध्यान नै छैन, सरकारको ध्यान अन्य कुरामा मात्र छ । यो सामन्ती सरकार हो कि लोकतान्त्रिक सरकार हो ?’
कालाबजारीलाई सरकारले संरक्षण गरेको भन्दै दशौंदीले जनतालाई राहत दिने कुनै काम नभएको बताउनुभयो ।
कोशी प्रदेशको नाम राख्ने क्रममा सत्तारुढ दलहरुले नै पहिचानका नाममा भित्रभित्रै साम्प्रदायिकता फैलाएको र त्यो आगो अहिले धरान, सर्लाही हुँदै नेपालगञ्ज पुगेको बताउनुभयो । सरकारले द्धन्द बढाउन खोजेको, शान्ति सुरक्षा स्थापित गर्न नखोजेको उहाँले भन्नुभयो ।
राज्य सञ्चालन गर्नेहरुलाई पटक्कै लाज नलागेको भन्दै उहाँले न्यायाधीश नियुक्तिमा फेल हुनेहरुलाई पनि नियुक्त गरिएकोमा आपत्ति जनाउनुभयो ।
सत्ताधारी गठवन्धन सरकार यो व्यवस्था र संविधानको खिलाफमा गएको पनि उहाँले दावी गर्नुभयो । महंगी बढोस्, द्धन्द बढोस् भन्नेमा मात्र सरकारको ध्यान रहेको बताउनुभयो ।
