काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका सचेतक महेश बर्तौलाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सरकार सकारात्मक नभएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै बर्तौलाले सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन नदिन राजनीतिक चलखेल भएको बताउनुभयो । सङ्क्रमणकालीन न्यायलाई नटुङ्ग्याएर त्यसैमा खेल्ने राजनीतिक रूपबाट वातावरण बिगार्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।
विगत १७ वर्षदेखिको अधुरो रहेको सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउनका लागि उपयुक्त विधेयक निर्माण गर्ने काम भइरहेको बेला सत्तारुढ राजनीतिक दलबाट वातावरण बिथोल्ने विभिन्न प्रयास भइरहेको उहाँले बताउनुभयो । दल विशेषले घोषणा गरेको जनयुद्ध दिवस मनाउने निर्णयलाई मान्न नसकिने उहाँले प्रष्ट पार्नुभयो । ‘कुनै दल विशेषका लागि कुनै दिन गर्वको विषय हुन सक्छ,उल्लासमय पर्वकै विषय हुन सक्छ,त्यो दल विषयको कुरा हो, सिङ्गो देशले त्यसलाई स्विकार्नै पर्ने बाध्यता हुँदैन’, उहाँले भन्नुभयो ।
उहाँले विभिन्न उटपट्याङ काम गरेर सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुग्न नदिई त्यसलाई गिजोल्न प्रयत्न गरिएको बताउनुभयो । राजनीतिक वातावरण बिगार्न अनेक प्रयत्न भएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
