काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले राजावादी र पूर्व राजाबाट धार्मिक तथा सामाजिक सद्भाव भड्काउने प्रयास गरियो भनि लगाएको आरोपको खण्डन गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङदेनले राजवादी र पूर्व राजाले के त्यस्तो कार्य गरेको कारण धार्मिक र सामाजिक सद्भाव भड्किने अवस्था आयो ? भन्दै प्रश्न गर्नुभयो । राजावादीका गतिविधिको निगरानी र नियन्त्रण गर्नुपर्यो भनि दिएको अभिव्यक्ति प्रति उहाँले आपत्ति जनाउनुभयो ।
उहाँले सरकामा रहेकाहरूकै अकर्मण्यताको कारण अहिलेको अवस्था आएको बताउनुभयो । ‘जघन्य हत्याका अपराधीलाई जेलबाट छाड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी नागरिक बनाउने, क्विनटलका क्विनटल सुन तस्करी गरेर ल्याउने काम चाहिँ लोकतान्त्रिक हो ? म सोध्न चाहन्छु’, उहाँले भन्नुभयो ।
