काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारले संसद्लाई रवरस्टाम्प बनाउने प्रयत्न गरेको भन्दै आलोचना गर्नुभएको छ ।
शिक्षा सम्बन्धी ऐन निर्माणको सन्दर्भमा सरकारले शिक्षकहरूसँग ऐनमा समावेश गर्ने कुरा सम्झौता गरेर आएको र त्यो जबरजस्ती संसदमा लाद्ने प्रयत्न गरेको पन्तले बताउनुभयो । ‘बाहिर आन्दोलन भयो भनेर त्यो विधेयकमा हाल्ने भनेर सम्झौता गर्नु उपयुक्त होइन’, उहाँले भन्नुभयो ।
शुक्रबार प्रतिनिधि सभामा सरकारले ल्याएको शिक्षा विधेयकको सैद्धान्तिक छलफलमा बोल्दै पन्तले सरकारले कुनै पनि विधेयक ल्याउँदा राम्ररी पूर्व तयारी गरेर ल्याउनु पर्ने बताउनुभयो । संसद्लाई सरकारले हेप्न नमिल्ने उहाँले प्रष्ट पार्नुभयो । ‘सरकारले गरेको सम्झौता मान्न यो संसद् बाध्य छ ? बाध्य छैन, संसद्ले विधेयक आफ्नो विवेकले बनाउँछ’, उहाँले भन्नुभयो ।
सरकारले शिक्षकहरूसँग गरेका कतिपय सम्झौता संविधानसँग बाझिने रहेका उहाँले बताउनुभयो । त्यसलाई विधेयकमा समावेश गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो । माध्यमिक तहको शिक्षा स्थानीय तहलाई दिने संविधानले नै गरेको व्यवस्था विपरीत संघीय सरकारको मातहतमा ल्याउने गरी सरकारले गरेको सम्झौता संविधान र संघीयताको मर्म विपरीत रहेको उहाँले बताउनुभयो । संविधान र संघीयताको मर्म विपरीतको काम संसद्ले गर्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
