काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले शिक्षामा गरिएको निजीकरणले शैक्षिक क्षेत्रमा अहिलेको समस्या आएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै बास्कोटाले अहिलेका सामुदायिक विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीको मन जित्न नसकेका बताउनुभयो ।
नेपाललाई जापान बनाउँछु, स्वीट्जरल्याण्ड बनाउँछु भनेर मात्र केही नहुने बनाउँदै सबैभन्दा पहिला शिक्षाको गुणस्तर सुधार आवश्यक रहेको बास्कोटाले बताउनुभयो । शैक्षिक क्षेत्रमा गरिएको अन्दाधुन्द निजीकरणको परिणाम आजको शैक्षिक बेथिति सिर्जना भएको उहाँले बताउनुभयो ।
अहिले ल्याएको शिक्षा विधेयक पुनर्लेखनको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो । शिक्षा क्षेत्रको सुधार अब सामान्य तरिकाले हुन नसक्नेमा उहाँले जोड दिनुभयो । शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन नै आवश्यक भएको उहाँको भनाइ छ ।
उहाँले शिक्षा क्षेत्रमा प्राइभेट सेक्टरको पनि ठुलो लगानी भएकोले त्यसको व्यवस्थापनमा पनि ध्यान दिनु पर्ने बताउनुभयो । निजी क्षेत्रको ८ सय अर्ब लगानीको पनि कसरी बन्दोबस्त गर्ने भन्ने विषयमा गम्भीर हुनु पर्ने उहाँको भनाइ छ । ‘महाविस्फोटको रूपमा होइन महाप्रस्थान र देश निर्माणको एउटा जग बसाल्ने कोशेढुङ्गा बनाउने गरी विधेयकलाई अगाडि बढाउनुपर्छ’, उहाँले भन्नुभयो ।
उहाँले नेपाली विद्यालयको नाम विदेशी राख्ने कुरा प्रति पनि आपत्ति जनाउनुभयो । विदेशी नाम भन्दा सगरमाथा, जानकी जस्ता नाम राखेमा नेपालको पहिचान झल्किने उहाँको भनाइ थियो ।
