काठमाडौं । प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने सरकारले बताएको छ ।
आजकाे संसद बैठकमा समय माग गरेर इजरायलमा रहेका नेपालीकाे अवस्था जानकारी गराउँदै परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली विद्यार्थी सम्पर्क नभएकाे बताउनुभएकाे छ ।
उहाँले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू सम्पर्कविहीन भएको बताउनुभयाे । ‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ' उहाँले भन्नुभयाे- 'बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ ।’
इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले राख्न तथा उद्धारकाे सहयोग गर्न सरकार पक्षबाट आवश्यक सहजीकरण र समन्वय भइरहेको उहाँले बताउनुभयाे ।
