काठमाडौं । प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले डेङ्गी रोगले महामारीको रूप लिएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले रोग नियन्त्रणका लागि संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
तनहुँमा डेङ्गी बढेको कारण उपचारमा समेत समस्या भएको उहाँले बताउनुभयो । औसत एक सय जनाको परीक्षण गर्दा ६०÷७० प्रतिशत पोजेटिभ बिरामी देखिएको उहाँले जानकारी दिनुभयो । डेङ्गी किट र ब्लड काउन्टर गर्ने आधारभूत सामग्रीहरू पनि व्यक्तिगत पहलमा सांसदले पठाइ दिनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । ‘प्रदेश सरकार र संघीय सरकारको यसप्रति ध्यान जाओस्’, उहाँले भन्नुभयो ।
वैदेशिक रोजगारीमा गएर आउने अधिकांशमा मिर्गौलाको समस्या देखिएको उहाँले बताउनुभयो । गर्मीमा कडा काम गर्दा उनीहरूमा यो समस्या आएको वाग्लेको भनाइ छ । ‘राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहेका बिरामी मध्ये एक तिहाइ बिरामीहरू वैदेशिक रोजगारबाट फर्केका र औसतमा ४० वर्षभन्दा कम उमेर रहेको पाइएको छ, यो दर्दनाक अवस्था हो’, उहाँले भन्नुभयो ।
वाग्लेले सरकाले बजेटमा तोकिएको सीमाभित्र कामै गर्न नसकेको भन्दै आलोचना गर्नुभयो । चालू आर्थिक वर्षको बजेटमा समय सीमामा रहेर सरकारले काम गर्न नसकेको उहाँले बताउनुभयो ।
मुलुकको आर्थिक अवस्था निक्कै कमजोर भएको बताउँदै वाग्लेले सरकारले राष्ट्र बैँक र कर्मचारीलाई दोष दिएर उम्कन नमिल्ने बताउनुभयो । बजेट बनाउने र कार्यान्वयन गर्ने प्रमुख भूमिका सरकारको भएको उहाँले प्रष्ट पार्नुभयो ।
