काठमाडौं । प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय प्रधानमन्त्रीले भ्रमण गरेको विषयमा सरकारले संसद्मा जानकारी गराउनु पर्ने माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सो विषयमा संसद्लाई जानकारी गराउन सभामुखले सरकारलाई रुलिङ गर्नु पर्ने बताउनुभयो । ‘नेपाल सरकार किन बेखबर छ ? शासकहरू यस्ता विषयमा मौन रहने विगतकै रोग हो, यस्तै रवैया अपनाइएको हो कि के हो ? सरकारको तर्फबाट यो सदन बेखबर बन्न मिल्दैन’, थापाले भन्नुभयो ।
इजरायलमा हमासको हमलामा परी समस्यामा परेका विद्यार्थीलाई स्वदेश फर्काउने भन्दा पनि सरकार सुरुका दिनमा प्रचारमा केन्द्रित भएको भन्दै उहाँले आलोचना गर्नुभयो । नागरिकको समयमा नै उद्धार हुन नसक्नु गम्भीर कुरा भएको उहाँले बताउनुभयो । सबैभन्दा पहिला अलपत्र परेकालाई स्वदेश ल्याउन र मृतकको शव तत्काल ल्याई घर घरमा पुर्याउन उहाँले माग गर्नुभयो ।
स्थानीय तहका आन्दोलनरत कर्मचारीको जायज माग सम्बोधन गर्न उहाँले सरकारसँग माग गर्नुभयो । कर्मचारी आन्दोलनमा हुँदा स्थानीय तहको काम ठप्प भएको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपालगञ्जका चेतन मानन्धरका हत्यारालाई सरकार र राष्ट्रपतिको मिलेमतोमा छुटाएको भन्दै उहाँले त्यस प्रति पनि आपत्ति जनाउनुभयो । उहाँकी पत्नीले काठमाडौंमा जारी खोको आन्दोलन प्रति उहाँले ऐक्यबद्धता पनि जनाउनुभयो ।
