काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियम सिनेटका सभामुख स्टेफिन डी होर्सबीच भेटवार्ता भएको छ ।
अध्यक्ष तिमिल्सिना र सभामुख हाेर्सबीच एंगाेलाको राजधानी लुवाण्डामा बिहीबार भेटवार्ता भएकाे हाे । अन्तरव्यवस्थापिका संघ (आइपीयु) को १४७ औं महासभाका क्रममा उहाँहरुबीच भेटवार्ता भएको हाे ।
अध्यक्ष तिमिल्सिना र सभामुख हाेर्सबीच नेपाल बेल्जियम सम्बन्ध, आपसी हित लगायत विषयमा छलफल भएकाे अध्यक्ष तिमिल्सिनाकाे सचिवालयले जनाएकाे छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियमबीचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । दुवै मुलुकले अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा धारणा राख्दै आएको उहाँले स्मरण गनुभयो । अध्यक्ष तिमिल्सिनाले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा एकअर्का देशलाई समर्थन गर्दै आएको र बेल्जियमले नेपालको विकास प्रयासमा विभिन्न दातृ निकायमार्फत गरेको योगदानका लागि धन्यवाद दिनुभयो ।
नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसदको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बेल्जियमका नागरिकका बीचमा लोकप्रिय भएकाले उल्लेख्य संख्यामा पर्यटकलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा बेल्जियमकी सभामुख स्टेफिन डि होर्सले नेपाल र बेल्जियमका बीचमा धेरै समानताहरु रहेको बताउनुभयाे । जलवायु परिवर्तनको असर कम गर्न र मानवअधिकारको प्रवर्द्धन गर्न सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले कोभिडका समयमा नेपालमा सहयोग गरेको स्मरण गर्नुभयाे । जलवायु परिवर्तनबाट हुने प्राकृतिक विपत्तिका घटना कम गर्न आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता समेत सभामुख हाेर्सले जनाउनुभयो ।
