काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धि पत्रहरु र संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार नेपालकाे संसद्लाई सम्बाेधन गर्दै हुनुहुन्छ । गुटेरेस चार दिने भ्रमणका लागि शनिबार राति नेपाल आइपुग्नुभएकाे छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०, भन्सार विधेयक-२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिमस्टेक वडापत्र (बिमस्टेक चार्टर) अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ ।
