काठमाडाैं । नेपालकाे भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भाेलि नेपालकाे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार अपरान्ह ४ बजे बस्ने संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे संयुक्त बैठकलाई महासचिव गुटरेसले सम्बाेधन गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
त्यसका लागि सबै तयारी पूरा भएकाे पनि संसद् सचिवालयले जनाएकाे छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले साेमबार संयुक्त सदनको बैठक (प्रतिनिधि सभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण समेत गर्नुभएकाे छ ।
महासचिव गुटरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणकाे निम्ताे दिनुभएकाे थियो । उहाँकाे निमन्त्रणामा गुटरेस शनिबार राति काठमाडाैं आइपुग्नुभएकाे थियाे ।
