काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनुहुनेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको १६औं वार्षिक प्रतिवेदन ०७८-७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन ०७९-८० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं वार्षिक प्रतिवेदन आ.व. २०७९-८० सभासमक्ष पेस गर्नहुने सम्भावित कार्यसूची छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि छ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को धारा १८४ को उपनियम (४) बमोजिम माननीय सदस्यबाट प्राप्त अनपस्थितिकाे सूचना स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
राष्ट्रिय सभा बैठक बस्नुअघि आजै अपरान्ह ४ बजेकाे संघीय संसद्काे संयुक्त बैठक बस्दैछ । साे बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
