काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालकाे संघीय संसद्काे संयुक्त बैठकलाई सम्बाेधन गर्नुभएकाे छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार अपरान्ह बसेकाे संसद्का दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाकाे संयुक्त बैठकलाई महासचिव गुटेरेसले सम्बाेधन गर्नुभएकाे हाे ।
सम्बाेधनका क्रममा उहाँले नेपाल विश्वको असल मित्र रहेकाे बताउनुभयाे । 'यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु, मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन्, नेपाल विश्वको मित्र हो, विश्व नेपालका लागि असल मित्र हुनुपर्छ'- महासचिव गुटेरेसले भन्नुभयाे ।
नेपालकाे शान्ति पक्रियामा सघाउन पाउँदा राष्ट्रसंघलाई गाैरव लागेकाे महासचिव गुटेरेसले बताउनुभयाे । दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको उहाँले बताउनुभयाे ।
नेपालले शान्ति प्रक्रियाअन्तर्गत संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेकाे भन्दै उहाँले शुभकामना पनि दिनुभयाे ।
नेपाली सेनाले शान्ति मिसनमा गरेको योगदान अविस्मरणीय रहेकाे महासचिव गुटेरेसले बताउनुभयाे । उहाँले शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा १ मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सांसद्ले आफ्नो ठाउँबाट उठेर मौनधारण गर्नुभएको थियो ।
महासचिव गुटेरेसले राेस्टममा उभिएर सम्बाेधन गर्नुभएकाे थियाे । नेपालको संसदीय इतिहासमा संयुक्त राष्ट्रसंघका महासचिवले पहिलोपटक रोस्ट्रममा उभिएर सम्बोधन गरेकाे याे पहिलाे पटक हाे ।
