काठमाडाैं । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले साे विधेयक सर्वसम्मतिले पारित गरेकाे हाे । बैठकमा सांसद् प्रकाश पन्थले पेस गर्नुभएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वसम्मतिले पास भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि मंगलबार नै बसेकाे राष्ट्रिय सभाकाे पहिलाे बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभएकाे थियाे ।
साे विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल भएकाे थियाे । त्यसपछि संशाेधनसहित विधेयक पारित भएकाे हाे । राष्ट्रिय सभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधि सभामा जानेछ ।
राष्ट्रिय सभाको अर्को बैठक पर्सि बिहीबार दिउँसाे १ बजे बस्नेछ ।
