काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्काे संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन धेरै राम्राे भएकाे बताउनुभएकाे छ ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाकाे संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले नेपालको शान्तिप्रक्रिया, गरिबी निवारण, जलवायु परिवर्तन लगायत विषयमा महासचिव गुटेरेसले व्यक्त गरेको अभिव्यक्ति निक्कै राम्रो भएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले केही महत्वपूर्ण विषयहरु प्रकाश पार्नुभएको छ, नेपालको संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले वातावरणको बारेमा, गरिबी निवारणको बारेमा, अरू शान्ति प्रक्रियालाई टुंग्याउने बारेमा, विभिन्न विषयमा उहाँले प्रकाश पार्नुभएको छ, र नेपालको, नेपाली राष्ट्रको उहाँले राम्रो मूल्यांकन गर्नुभएको छ'- अध्यक्ष ओलीले भन्नुभयाे ।
महासचिव गुटेरेसले नेपालको राम्रो मूल्यांकन गर्नुभएकाे उहाँले बताउनुभयाे । विपन्न राष्ट्रहरुलाई सम्पन्न राष्ट्रहरुले सहयोग गर्नुपर्ने तथा जलवायु परिवर्तनको असरमा नेपालको सजकताको गुटेरेसले विशेष प्रशंसा गरेको अध्यक्ष ओलीले बताउनुभयो ।
पीडितलाई न्यायका साथै सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मान्यता अनुसार शान्ति प्रक्रियालाई छिटो टुंगाेमा पुराउन सुझाव दिएको भन्दै उहाँले पार्टीले समेत धन्यवाद दिने बताउनुभयो ।
